एमाले लुम्बिनीको नयाँ नेतृत्व चयनका लागि आज मतदान



काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । यसअघि सोमबार रातिदेखि नै मतदान हुने भनिएकोमा मंगलबार बिहान हुने गरी स्थगित भएको थियो । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।

अधिवेशनबाट ५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ । लुम्बिनी प्रदेश अध्यक्षका लागि आकांक्षी हालका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्यसमेत रहेका हरिप्रसाद रिजालबीच प्रतिस्पर्धा हुँदैछ । ५ जना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ । पदाधिकारी र प्रदेश कमिटी सदस्यसहितका लागि ३६४ जनाको उम्मेदवारी परेको छ ।


लुम्बिनी प्रदेशमा सहमतिबाट नेतृत्व टुंग्याउने प्रयत्न अन्तिम समयसम्म चलेको थियो । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनलाई सम्बोधन गर्दै सहमतिबाटै नेतृत्व टुंग्याउन भनेका थिए । तर, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको प्रतिष्ठाको लडाइँले निर्वाचन भएको एमालेका नेताहरूको भनाइ छ ।