सडकमा छरपस्ट छोडिएको टेलिफोनको तारमा खुट्टा अल्झिएर घाइते भएकी वृद्धाको निधन



सुदूरपश्चिम । धनगढीमा ‘मर्निङवाक’ गर्ने क्रममा सडकमा छरपस्ट छोडिएको टेलिफोनको तारमा खुट्टा अल्झिएर घाइते भएकी वृद्धा इन्द्रादेवी पन्तको उपचारका क्रममा निधन भएको छ । 

मर्निङवाक गर्ने क्रममा खुट्टामा अल्झिएको टेलिफोनको तार विपरीत दिशाबाट आइरहेको ट्रकमा बेरिएपछि ट्रकसँगै झण्डै तीन सय मिटरको दूरीसम्म घिसारिएर ७० वर्षीया वृद्धा पन्त घाइते भएकी थिइन् । महेन्द्रनगर नगरपालिकाको भासी टोल निवासी पन्तको शव आज कञ्चनपुरस्थित महाकाली नदीको घाटमा अन्त्येष्टि गरिएको मृतकका भाई क्याप्टेन बेद उप्रेतीले जानकारी दिए ।


घाइते वृद्धाको धनगढीस्थित माया मेट्रो अस्पतालमा ६८ दिनदेखि उपचार भइरहेको थियो । उनको सोमबार निधन भएको हो । गत फागुन १६ गते भएको यो घटनापछि पीडित परिवारबाट क्षतिपूर्ति र उपचारको माग गर्दै नेपाल टेलिकम, धनगढी उपमहानगरपालिका, ट्रक धनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो । 

धनगढीको मुख्य बजार क्षेत्रमा हाल सडकको स्तरोन्नतिको काम भइरहँदा सडक छेउको टेलिफोनको खम्बा र तार स्थानान्तरण गर्ने क्रममा पुराना तार सडकमा जताततै छरपस्ट गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here