महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान



महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न लागिएको छ । 

आइतबारदेखि हात्तीपाइले रोग निवारणका लागि १० दिने सामाजिक अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।  


स्वास्थ्य सेवाप्रदायक, स्थानीय तह, प्रशासन र सामाजिक सङ्घ संस्थाबीच समन्वय गरी साझा संयन्त्र बनाएर अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख सुनिता गुप्ताले जानकारी दिए । महोत्तरी हात्तीपाइले रोग प्रभावित जिल्ला भएकाले रोग निवारणका लागि सामूहिक रूपमा अभियान सञ्चालन गरिने उनको भनाइ छ । अभियानको सफलताका लागि जिल्लाका १५ वटै स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकलाई बस्तीबस्तीका घरघर पुगेर औषधि खुवाउने तरिकाबारे अभिमुखीकरण गरिसकिएको गुप्ताले बताए । 

‘यसपालि औषधि सेवनमा एकजना पनि नछुटुन् भन्ने ध्येयका साथ योजना बनाइएको छ । स्वास्थ्यकर्मीले घरघरमा पुगेर औषधि खुवाउनेछन् । यस अभियानमा सहयोगका लागि सबैलाई आग्रह छ,’ गुप्ताले भने । 

अभियानको क्रममा दुई वर्ष उमेर पुगेका सबैलाई उचाइमापन गरी औषधिको मात्रा दिइने छ । त्यसबाहेक दुई वर्ष उमेर नपुगेका, गर्भवती महिला, सात दिनभित्रका सुत्केरी, अस्पतालमा भर्ना भएका बिरामी, छारे रोग भएका, दीर्घरोगी र निरन्तर डायलाइसिस गर्नुपर्ने व्यक्तिलाई औषधि खुवाइने छैन । यस अभियानअन्तर्गत जिल्लाका सात लाख १६ हजार दुई सय ६४ जनालाई औषधि खुवाइने कार्यालयको तथ्याङ्क छ । 

मधेशका आठ जिल्लामध्ये महोत्तरी, धनुषा, सर्लाही र रौतहट गरी चार जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here