डडेल्धुरामा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उपमेयरसहित तीन पक्राउ



डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडा अध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको हो ।


तीनै जनालाई पक्राउ गरि थप अनुसन्धान थालिएको उनले बताए । बिहीबार भएको कार्यपालिका सदस्यहरुले बैठकमा बिरोध गर्दै जोशीमाथि कुटपिट भएको थियो । नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए ।

बिहीबारको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए । सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए ।

यस्तै केही समयअघि नगरपालिकाकी उपप्रमुख बिमलाकुमारी बोहराले आफ्ना श्रीमानलाई करारमा जागिर खुवाउन प्रयास गरेकी थिइन् । तर, असफल भएपछि अधिकृतिसँग उनले रिसिइवी राखेको बताइएको छ । उपप्रमुख माओवादी केन्द्रबाटै विजयी भएकी हुन् । यता पक्राउ पर्नुअघि प्रतिक्रिया दिदै नगरपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष कर्णबहादुर धामीले भने आफूहरूले हाकिममाथि कुटपिट नगरेको बताएका छन् ।