सिन्धुलीको दुम्जास्थित टेलिकमको टावरमा बम विष्फोट



सिन्धुली । सिन्धुलीमा नेपाल टेलिकमको टावरमा बम विष्फोट गराइएको छ । सिन्धुलीको सुनकोसी गाउपालिका १ दुम्जास्थित बिपीपार्क नजिक शुक्रबार बिहान बम विस्फोट भएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिहान तीन बजेतिर विष्फोटको आवाज आएपछि प्रहरी चौकी दुम्जालाई जानकारी गराइएको थियो । यससम्बन्धी प्रहरीले अनुसन्धान गर्दा कुकर बम विष्फोट भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुम्जास्थित बिपी पार्कमा रहेको टेलिकम टावरमा केही पड्किएको जस्तो आवाज आएको भन्ने खबर आएसँगै प्रहरी चौकी दुम्जाको टोली पुगेको थियो ।


प्रहरीकाअनुसार कुकर बमले टावरको कम्पाउण्डको झ्यालमा सामान्य क्षति पुगेको छ । टावरको कम्पाउण्ड भित्र दुइओटा पेट्रोलको गन्ध आउने बोतल फेला परेको छ भने जनमुक्ति सेना नामक पर्चा फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।