युद्ध प्रभावितलाई उद्धार गर्न आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु भएकाहरूको शव स्वदेश ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी घाइतेको उपचारको व्यवस्था मिलाउन, स्वदेश फर्कन चाहनेलाई कूटनीतिक पहल गर्न आग्रह गरेका हुन् ।


आयोगले आमरण अनशनमा बसेका कृतु भण्डारीलगायतको जीवन रक्षा गर्न पनि सरकारसँग आग्रह गरेको छ । नेपालीहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुने आयोगले स्मरण गराएको छ ।

रुस र युक्रेनबीच चलिरहेको युद्धमा रुसी सेनामा कार्यरत ३९ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । केही घाइते भई उपचाररत छन् । जोखिममा रहेका कतिपयको यथाशीघ्र उद्धारका लागि पहलको माग राखेर युद्ध प्रभावितका आफन्त विगत १७ दिनदेखि काठमाडौँमा अनशनमा छन् ।  यस विषयमा आयोगमा उजुरी प्राप्त भएपछि रत्नपार्कमा जारी आमरण अनशनस्थलको आयोगले अनुगमन गरेको छ ।

 अनशनरत व्यक्तिको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको आयोगले जनाएको छ । जोखिममा रहेका व्यक्तिहरूको उद्धार गर्न र गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा जाने स्थितिको अन्त्य गर्न गत १ पुसमा आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here