एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा छ : केपी ओली



पाेखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताएका छन् । अध्यक्ष ओलीले भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई आग्रह पनि गरे ।

नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज पोखरामा आयोजित चुनावीसभामा उनले जनताले नेकपा एमालेलाई विश्वास गरेको बताउँदै जनताबाट प्राप्त मतलाई सुरक्षित गरी मतगणनासम्म लैजान पार्टीका कार्यकर्ताहरुलाई निर्देशन पनि दिए । एमाले सरकारमा रहँदा मुलुकमा विकासको लहर सुरु हुने र शासन व्यवस्थामा पनि सुधार आउने उनको दाबी थियो । उनले नेकपा एमालेलाई विभिन्न रुपमा सिध्याउने प्रयासहरू गरिएका भन्दै आसन्न निर्वाचनमा एमालेले विजय हासिल गर्ने विश्वास व्यक्त गरे ।


पोखरासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै अध्यक्ष ओलीले तीन वर्षको जेल जीवनका बसाइमा पोखरालाई राम्रैसँग चिन्ने र अनुभव गर्ने अवसर पाएको स्मरण गरे । वैशाख ३० गतेको निर्वाचनमा एमालेका उम्मेदवारलाई सूर्य चिह्नमा मतदान गरेर समृद्धि र विकासका पक्षमा उभिन उनले आग्रह गरे । नेकपा एमालेका तर्फबाट पोखरा महानगरको प्रमुख पदका उम्मेदवार कृष्ण थापाले पोखरालाई संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धतासहित आफूहरू चुनावी अभियानमा जुटेको उनले बताए ।