बागी उम्मेदवारका कारण पार्टी पराजित भए कसैलाई छुट हुदैन : प्रधानमन्त्री देउवा



धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आउने चुनावमा बागी उम्मेदवारका कारण पराजित भएमा पार्टीले छुट नदिने बताएका छन् ।

धनगढीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बागी उम्मेदवारकै कारण पराजित भएमा पार्टीले बागी उम्मेदवारलाई कारबाही गर्ने बताएका हुन् । चुनावमा उठेका पार्टीका बागी उम्मेदवारलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीका उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे ।


प्रधानमन्त्री देउवाले वर्तमान संविधानले जथाभावीरुपमा संसद् विघटन गर्ने प्रावधान प्रधानमन्त्रीलाई नदिएको भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाकारण संसद् विघटन गर्दा आफूसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका तत्कालीन नेता माधव नेपालले विरोध गरेको बताए ।

उनले भने ‘‘संसद् भङ्ग गर्ने एमालेले संसद् पुनःस्थापित हुँदा पनि चल्न दिएको छैन, चुनाव जितेमा ओलीजीले फेरि त्यही काम गर्ने हुन्, त्यसैले आगामी सबै निर्वाचनहरु गठबन्धनले नै जित्नुपर्छ ।’’ देउवाले सुदूरपश्चिम प्रदेश आफ्ना लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सुदूरपश्चिमकै कारण आफू देशको प्रधानमन्त्री भएको बताए ।

देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि आफूले सक्दो विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै खुटिया—दिपायल—बझाङसम्मको सडक, कर्णाली नदी किनारै किनार हुँदै अछाम जोड्ने सडक, निर्माणका लागि पहल गर्ने बताए । प्रधानमन्त्री देउवाले विकासका लागि सुदूरपश्चिम प्रदेशलाई पहिलो प्राथमिकता दिएर आफूले काम गर्नेसमेत बताए ।