युएईलाई हराउदै नेपाल टी- २० विश्वकपमा छनौट



काठमाडौँ । नेपाल टी- २० विश्वकपमा छनौट भएको छ । नेपालले युएईलाई ८ विकेटले हराउदै फाइनलमा पुगेसँगै टी- २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

सेमिफाइनलमा युएईले दिएको १३५ रनको लक्ष्य पछाएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।यसअघि युएईले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन बनाएको थियो ।


एशिया क्षेत्रको छनौटमा नेपाल र ओमान फाइनलमा पुगेसँगै विश्वकपमा छनौट भएका छन् । योसँगै वेस्टइन्डिज र अमेरिकामा हुने २०२४ को विश्वकपमा खेल्ने १८ देशको टुंगो लागेको छ ।

आयोजकको हिसाबले अमेरिका र वेस्टइण्डिज स्वत: छनौट भएका छन् भने अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, इङल्याण्ड, भारत, पाकिस्तान, नेदरल्याण्डस, न्यूजील्याण्ड, दक्षिण अफ्रिका र श्रीलंका गरी ८ देश स्वत: छनौट भएका छन् । त्यसैगरी टी-२० वरियताको आधारमा अफगानिस्तान र बंगलादेश पनि स्वत: छनौट भएका छन् । 

त्यस्तै युरोपको क्वालिफायरबाट आयरल्याण्ड र स्कटल्याण्ड छनौट भएका छन् भने इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट पीएनजी र अमेरिका क्वालिफायरबाट क्यानडा विश्वकपका लागि छनौट भएका छन् ।

त्यस्तै एशिया कवालिफायरबाट ओमान र नेपाल छनौट भएका छन् । अब अफ्रीका क्वालिफायरबाट २ देश छनौट हुन बाँकी छ ।  

टी-२० विश्वकप २०२४ को जुन ४ देखि ३० जुनसम्म अमेरिका र वेस्टइन्डिजमा हुदै छ ।