कैलाली कञ्चनपुर रेबिजको जोखिममा



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा रेबिज रोगको जोखिम बढेपछि रोकथामका लागि रेबिजविरुद्धको खोप अभियान थालिएको छ ।

रेबिज रोकथामका लागि पछिल्ला समय कैलालीमा मात्रै तीन हजारभन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ । ‘रोगको रोकथामका लागि सचेतना कार्यक्रमसँगसँगै खोप अभियान थालिएको छ’, भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीले धनगढीमा आज भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भने, ‘सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीसहितका जिल्लाका लागि रेबिजविरुद्धको खोप अभियान चलाउन छ हजार मात्रा खोप पठाएको छ ।’


रोग अन्वेषण प्रयोगशाला धनगढीमा गएको तीन महिनामा रेबिजको शङ्का लागेका २८ पशुचौपायाको नमूना परीक्षण गर्दा २७ को नतिजा पोजेटिभ देखिएको जनाएको छ । पछिल्लो समयमा धनगढीसहितका क्षेत्रमा कुकुरको बन्ध्याकरण गर्ने काम पनि भइरहेको छ ।

यो अवधिमा रेविज सङ्क्रमित कुकुरले झण्डै एक हजार पाँच सय चौपायालाई टोकेको बताइएको छ । रेबिज रोगका कारण गएको माघ महिनामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ का युवक ललित विष्टको मृत्यु भएको थियो ।