पोखरा म्याराथनको उपाधि केन्याली धावक स्टेफनलाई



पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १७ औं संस्करणको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । १६ औं सस्करणको सफल पोखरा म्याराथन जितेका उनले यस वर्ष पनि उपाधि रक्षा गरेका छन् ।

केन्याली धावक कोसगेईले २ घण्टा २० मिनेट ०७ सेकेण्डमा पुरा गर्दै पाँच लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे । उनले गतवर्ष राखेको समय भने तोड्न सकेनन् । गतवर्ष उनको समय २ घण्टा १९ मिनेटको थियो ।


दोस्रो स्थानमा केन्याली धावक जुलियस मोरियकीले २ घण्टा २० मिनेट ३७ सेकेण्डमा दौड पुरा गरे । जुलियसले नगद ३ लाख रुपैयाँ प्राप्त गरे । तेस्रो स्थानमा भने नेपाली सेनाका धावक होमलाल श्रेष्ठ आए ।

उनले दुरी २ घण्टा २५ मिनेट १४ सेकेण्डमा पुरा गर्दै नगद २ लाख रुपैयाँ प्राप्त गरे । तेस्रो स्थानमा भने केन्याली धावक सिमिओन किप्लागातले दुरी पुरा गर्दै सान्त्वना पुरस्कार प्राप्त गरे । उनले ले २ घण्टा २९ मिनेट ३५ सेकेण्डमा दुरि पुरा गर्दै ३० हजार रुपैयाँ प्राप्त गरे ।

महिला तर्फको हाफ म्याराथनको उपाधि राजपुरा प्रसाईले उचाल्दै पोखरामा ह्याट्रिक गरिन् । महिला हाफ म्याराथनमा ह्याट्रिक गर्ने उनी पहिलो धाविका समेत हुन् । राजुपुराले १ घण्टा २३ मिनेट ०६ सेकेण्डमा पुरा गर्दै नगर १ लाख ५० हजार प्राप्त गरिन् ।

सशस्त्र प्रहरी बलकी बृन्दा श्रेष्ठले १ घण्टा २६ मिनेट २७ सेकेण्डमा दुरी पुरा गर्दै नगद १ लाख प्राप्त गरीन् । नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानले १ घण्टा २६ मिनेट ४९ सेकेण्डको समयमा पुरा गर्दै तेस्रो स्थानमा रहिन् । उनले नगद ७५ हजार प्राप्त गरीन् ।

म्याराथनमा १६ देशका २९ विदेशीसहित करिब २ सय धावकहरुले प्रतिस्पर्धा गरेका थिए । म्याराथनमा गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धामा लम्जुङका रामजी बस्नेत पहिलो, गोखराका निरज भट्ट क्षेत्री दोस्रो, गोरखाकै श्याम मगराती तेस्रो र कास्की अन्नपूर्ण गाँउपालिकाका सरोज शर्मा चौथो भए । उनीहरुले क्रमस ५०, ३०, २० र १० हजार नगद प्राप्त गरे ।