प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र भारतका नियन्त्रक एवं महालेखापरीक्षक गिरीशचन्द्र मर्मुले भेट गरेका छन् ।

सिंहदरबारमा बिहीबार भएको भेटमा उनीहरूबीच नेपाल–भारतका लेखापरीक्षणका लागि क्षमता अभिवृद्धि र अनुभव आदान–प्रदानलगायतमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले बताए ।


उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतको महालेखापरीक्षकको कार्यालयबीचको सहयोग एवं अनुभव आदान–प्रदान गर्ने सहमतिबाट दुवै देशको सार्वजनिक लेखापरीक्षणमा सहयोग पुग्ने विश्वास जनाए ।

भारतका महालेखापरीक्षक मुर्मुले नेपालको लेखापरीक्षणबारे आफूले जानकारी प्राप्त गरेको उल्लेख गर्दै आगामी दिनमा दुई देशका लेखापरीक्षकहरूले एकअर्काको अनुभव र सीप सिक्न सक्ने विश्वास जनाए ।

भेटमा नेपालका महालेखापरीक्षक तोयम राय, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. सापकोटा एवं परराष्ट्र मन्त्रालयका उच्चअधिकारीसमेत उपस्थित थिए ।