नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा हुँदै



कैलाली । कैलाली-२ बाट निर्वाचित सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् ।

ट्याक्टर आगजनीको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरी सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि रिहा हुन लागेका हुन् ।


उनको रिहाइका लागि कैलाली जिल्ला प्रशासन कार्यालयले आवश्यक कानुनी पक्रिया सुरु गरेको छ । तर, प्रजातन्त्र दिवसको अवसरमा सरकारी बिदा हुने भएकाले उनको रिहाइ आजै हुने कि भोलि भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन। यद्यपि, पार्टीका कार्यकर्ता भने जिल्ला कारागार कैलालीमा स्वागतका लागि पुग्ने भएका छन्।

२०६६ भदौ ३ गते ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । एक दशक अगाडीको सो मुद्दामा छ महिना कैद भुक्तान नगरेको भन्दै प्रहरीले गत १९ माघमा पक्रेको थियो ।