जापानकी राजकुमारी माकोले यही महिना बिहे गर्ने घोषणा



१५ असाेज । जापानकी राजकुमारी माकोले यही अक्टोबर महिनामा बिहे गर्ने भएकी छन् । जापानकै एक सर्वसाधारण युवकसँग प्रेम सम्बन्धमा रहेकी माकोले अहिले मात्रै बिहेको मिति घोषणा गरेकी हुन् । उनले आफ्ना प्रेमीसँग बिहे गर्ने घोषणा भने यसअघि नै गरिसकेकी थिइन् । मिति भने तय भएको थिएन ।

झण्डै एक वर्ष अगाडि राजकुमारीले सर्वसाधारण युवकसँग बिहे गर्ने घोषणा गरेपछि त्यतिबेला केही विवाद र चर्चा समेत भएको थियो । उनले बिहे गर्दा पारिवारिक तथा परम्परागत प्रक्रिया भने नअपनाउने भएकी छन् । राजपरिवारका अन्य सदस्यको भन्दा उनको बिहे धेरै फरक हुने भएको छ । “राजकुमारी माकोले यही अक्टोबर २६ मा बिहे गर्नुहुने भएको छ,” आधिकारिक शाही स्रोतले भन्यो । स्रोतले माकोको वैवाहिक समारोह, भोजभतेर र अन्य सांस्कृति कथा परम्परागत कुनैपनि गतिविधि नगरिने तय भएको पनि दाबी गरेको छ ।


जापानका सम्राट नारुहितोकी भतिजी माको सन् २०१७ देखि नै एक सर्वसाधारण युवक केइ कोमुरोसँग प्रेम सम्बन्धमा थिइन् । सर्वसाधारण युवकसँग बिहे गर्न २९ वर्षीया राजकुमारी माकोलाई राजपरिवारले अनुमति दिए पनि कतिपयले भने आलोचना गरेका छन् । सर्वसाधारणसँग बिहे गरेपछि उनले शाही उपाधि र सम्मान गुमाउने भएकी छन् । राजकुमारी माकोको यो निर्णयबाट राजपरिवारका अधिकांश सदस्य दुःखी भएको जनाइएको छ । उनीहरु बिहेपछि अमेरिका बस्ने बताइएको छ ।