बागमती प्रदेशमा एमालेका १२ सांसदले गराए एकीकृत समाजवादीकाे पक्षमा सनाखत



१५ भदाै । बागमती प्रदेशसभामा एमालेका ५६ सांसदमध्ये १२ जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् । मंगलबार निर्वाचन आयोगको कार्यालय पुगेर १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजन भएको २१ दिनभित्र प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दलमा प्रवेशका लागि सनाखत गराउनुपर्ने हुन्छ । सोही बमोजिम बागमती प्रदेशसभाका १२ एमाले सांसदले उक्त दल त्याग गरी आफू नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् ।


सनाखत गर्नेमा सामाजिक विकास मन्त्री खनालसहित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठ रहेको छन् । 

१२ जना सांसद एमाले छाडेर नयाँ दलमा सामेल भएसँगै अब प्रदेशसभामा एमाले ४४ सांसदमा खुम्चिएको छ । योसँगै एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ । याे संगै अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । उनले अब प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन्।