सुदूरपश्चिममा एमालेका १० सांसदले गराए नेकपा समाजवादीको पक्षमा सनाखत



सुदूरपश्चिम प्रदेशसभाका २५ एमाले सांसदमध्ये १० जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् । मंगलबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा गएर उनीहरूले नयाँ पार्टीका पक्षमा सनाखत गरेका हुन्।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्नेमा  पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, चुनकुमारी चौधरी,  मना साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन्।


एमाले छाडेर उक्त पार्टीमा सामेल हुनका लागि १३ सांसद निर्वाचन आयोगको कार्यालयमा पुगे पनि तीन जना भने आवश्यक दस्तावेज नभएका कारण सनाखतबिना नै फर्किएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दीर्घराज सोडारी, सांसदद्वय अर्चना गहतराज र तारा लामा तामाङले दस्तावेज नपुगेका कारण सनाखत गराउन नपाएका हुन् । उनीहरुले बुधबार सनाखत गराउने जनाइएको छ ।

५२ सदस्यीय सुदूरपश्चिमको प्रदेश सभा एमालेका २५ सांसद थिए । तीमध्ये यसअघि १८ सांसद नेपाल पक्षमा भएको बताइएको थियो।