वीर गणेशमान सिंह राष्ट्रिय ‘टि ट्वान्टी’ क्रिकेट प्रतियोगिता सुरु



काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं लौहपुरुष गणेशमान सिंहको स्मृतिमा आयोजित वीर गणेशमान सिंह राष्ट्रिय ‘टि ट्वान्टी’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । नागार्जुन नगरपालिका खेलकुद समितिको सहयोगमा वीर गणेशमान सिंह फाउन्डेशनले आयोजना गरेको उक्त प्रतियोगिता आजदेखि सुरु भएको हो ।

मूलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको उक्त प्रतियोगिताको कांग्रेस नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शुभारम्भ गरे । कार्यक्रममा पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकका लागि नयाँ क्रिकेट खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताए । “नेपालले पछिल्लो समय क्रिकेट प्रतियोगितामा ठूलो फड्को मारेको छ, नयाँ खेलाडीका लागि यो प्रतियोगिता अवसर पनि हो”, उनले भने ।


नेता सिंहले लोकतान्त्रिक मूल्यमान्यता स्थापनाका लागि जीवन कुरर्वानी गर्नुभएका नेताको सम्झनामा प्रतियोगिता गरेकामा आयोजकलाई धन्यवाद दिए ।

नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले क्रिकेट प्रेमीका लागि उक्त खेलले सहयोग पुग्ने विश्वास व्यक्त गरे । गणेशमान सिंहको आदर्श र सिद्धान्त पालना गरेर खेल क्षेत्रलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । उनले नागार्जुन नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि काम गरिरहेको बताए ।

यही वैशाख १६ गतेसम्म चल्ने प्रतियोगितामा सातै प्रदेशका खेलाडीको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here