इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता



काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

यो क्षेत्रमा पर्ने ४२ मध्ये ३३ वडाको मतगणना भइसकेको छ । अब इलाम नपारपालिकाको ९ वटा वडाको मत परिणाम आउन बाँकी छ ।


पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ६ हजार ६२८ मतको अग्रता बनाएका छन् ।

सुहाङले २१ हजार ३८० मत ल्याइएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार खड्काले ताजा अवस्थामा १४ हजार ७५२ मत ल्याएका छन् ।

उता तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १० हजार १४६ मत ल्याएका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ हजार ६०३ मत पाएका छन्।

शनिबार भएको मतदानमा यहाँ ६६ हजार मत खसेको थियो ।