पर्सामा सामाजिक सद्भाव कायम राख्दै ईद मनाइयो



वीरगञ्ज (पर्सा) । पर्सा जिल्लामा पनि इस्लाम समुदायले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै पर्व मनाएका हुन् ।

वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्यामा रहेका मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन् । वीरगञ्जका अन्य समुदायका धर्मावलम्बीले पनि एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।


वीरगञ्ज–२ छपकैयाँका शाहिद मियाँ सिद्धिकीले चाडपर्वलाई सामाजिक सद्भाव कायम गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने बताए । “वीरगञ्जमा हिन्दू, मुस्लिम, शिखलगायतका समुदायका मानिस एकापसमा सद्भाव कायम गरेर बसोबास गर्दै आइरहेका छौँ”, उनले भने, “मेरा हिन्दू तथा शिख समुदायका साथीहरूले ईदको शुभकामना दिनुको साथसाथै आफ्नो चाडपर्वमा पनि बोलाउनुहुन्छ । हामी पनि ईदमा उहाँहरूलाई बोलाउँछौँ ।”

दुवै समुदायबीच शुभकामना साटासाट गर्दै आइरहेको सिद्धिकीको भनाइ छ । जुनसुकै चाडपर्वलाई पनि आपसी भाइचारा र सामाजिक सद्भाव कायम गर्नेगरी अघि बढाउन जरुरी रहेकामा उनले जोड दिए ।

वीरगञ्जका मस्जिद तथा ईदगाहमा बालकदेखि ज्येष्ठ नागरिक उमेर समूहका मुस्लिम समुदायका मानिसको उपस्थिति थियो । साथै शारीरिकरूपमा अपाङ्ग तथा अशक्तहरू पनि नमाज गर्नका लागि ईदगाह तथा मस्जिदमा सहभागी भएका थिए ।

“हामीले ईदको अवसरमा एक महिनासम्म भोकै बसेर रोजा ‘व्रत’ बस्यौँ । अब नमाज पढेर रोजा तोडेका छौँ”, मुस्लिम समुदायका अगुवा सहवीर अहम्मदले भने, “आज हामीले घरमा इष्टमित्र बोलाएर सेबई र अरु मीठो परिकार खाने र खुवाउने परम्परा रहेको छ ।” उनका अनुसार मुस्लिम समुदायले आफ्नो आम्दानीको दुई दशमलव पाँच प्रतिशत रकम दुःखी तथा अनाथलाई सहयोग गर्ने परम्परा पनि रहिआएको छ ।

ईदका दिन मुस्लिम समुदायका बर्तालु बिहानै मस्जिद र ईदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाह (भगवान्)सँग आशीर्वाद लिने गर्दछन् ।

वीरगञ्जमा करिब तीस हजारको हाराहारीमा मुस्लिम समुदाय रहेको अनुमान गरिएको छ । वीरगञ्जमा ईदगाहचोक, छपकैया, मुली, नगवा, नयकाटोलालगायत स्थानमा पुगी नमाज पढेर दुवा अर्थात् आशीर्वाद मागेको दृश्य देखिन्थ्यो ।नमाज पढेर सकेपछि मुस्लिम समुदायले एकापसमा अङ्कमाल गर्दै ईदको शुभकामना साटासाट गरी यो पर्व मनाएका छन् ।