सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह



काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई अघि बढाउन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिमा आज भएको छलफलमा मन्त्री शर्माले राष्ट्रियसभाबाट पारितभएको विधेयकलाई आवश्यक सुधारसहित पारित गर्न समिति सदस्यहरूलाई आग्रह गरे।


मन्त्री शर्माले विधेयकमा तत्काल नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी सार्वजनिक प्रसारण सेवा बनाइने व्यवस्था रहेका भन्दै सो विधेयक विगतको पृष्ठभूमिका आधारमा तयार गरिएको र थप समृद्ध बनाउन जरूरी रहेको धारणा राखे।

त्यस्तै, मन्त्रालयका सचिव रामकृष्ण सुबेदीले विगतमा समितिको प्रतिवेदन र सरकारको नीतिका आधारमा नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरेर सार्वजनिक प्रसारण सेवा बनाइने व्यवस्था गरिएको बताए।

बैठकमा समिति सदस्यहरुले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई थप परिमार्जन गर्ने सम्बन्धमा सुझाव व्यक्त गरेका थिए।