गगनको प्रश्नः सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री एकै हुन् कि होईनन् ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री एकै हुन् कि होईनन् भन्ने कुरा प्रहरीले छुट्याउन नसकेको टिप्पणी गरेका छन् ।

आज (मंगलबार) संवाद यात्राको क्रममा कञ्चनपुरमा रहेका लामिछानेले प्रहरीले यकिन गर्न नसकेपछि अब सहकारी ठगी गर्ने रवि लामिछाने र वर्तमान गृहमन्त्री एकै हुन् कि होईनन् भन्ने जाँच गर्न संसदीय छानविन समिति आवश्यक रहेको बताए । उनले कांग्रेसले केही समयदेखि माग गर्दै आएको संसदीय समितिको औचित्यता पुष्टि भएको समेत दाबी गरे ।


‘सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री रवि लामिछाने एकै हुन् कि होईनन् भन्ने थाहा नभएको भएकाले प्रतिवादी बनाउन सकिएन भनियो ।’ उनले भने, ‘सहकारीमा ठग्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एकै हुन् कि होईनन् भन्ने कुरा जाँच्ने क्षमता मसँग छैन भनेर नेपाल प्रहरीले भनेपछि अब संसदीय समिति बनाएर सहकारी ठग्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होईनन् भनेर खोज्नु पर्यो कि परेन ? त्यो हामीले नखोजे कसले खोज्छ त ?’

उनले सहकारीको रकम अपचलन प्रकरणमा प्रहरीले गरेको अनुसन्धान निश्पक्ष नभएको आरोप लगाए । हिजो सरकारी वकिलको कार्यालयले बुटवलको सुप्रिम सहकारीमा मुद्दा दायर गरेको स्मरण गराउँदै उनले रवि लामिछानेको संलग्नता पुष्टि हुँदाहुँदै पनि प्रतिवादी नबनाइएको भन्दै आपत्ति जनाए ।

उनले विधिको शासन लागू गर्नका लागि आफूहरु लागिपरेको समेत दाबी गरे । महामन्त्री थापाले सर्वसाधरणले गलत गर्दा जे सजाय हुन्छ त्यो सजाय नेता अथाव शक्तिशाली पदमा रहेकाहरुलाई पनि हुनुपर्ने उनको भनाइ छ । नेता र जनतालाई कानुनी रुपमा समान हैसियत रहेको उनको धारणा छ ।

उनले भने, ‘सर्वसाधरणले सहकारीमा जम्मा गरेको पैसा एक अर्ब रुपैयाँ लिएर तपाईले कुनै कम्पनी खोल्नुभयो । भोलिपल्ट त्यो कम्पनी बन्द गरेर पुनर्वासमा घुम्नुभयो भने तपाईँलाई प्रहरीले समाउँछ कि समाउँदैन ? तपाईँलाई अनुसन्धानको दायरामा लिन्छ कि लिदैन ? प्रश्न यतिमात्रै हो । त्यो तपाईँले गर्दा हुन्छ भने मैले गर्दा पनि हुन्छ । तपाईँ सार्वजनिक जग्गा आफ्नो बनाउनुभयो । तपाईँलाई राज्यले दण्ड दिन्छ भने मैले गर्दा पनि दिनुपर्छ । कानुनको शासन भनेको यही हो ।’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here