आइपिएलमा आज मुम्बई र राजस्थानबीच भिडन्त



काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबीच खेल हुदै छ । मुम्बईस्थित वानखडे क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ ।

जारी आइपिएलमा मुम्बई इण्डियन्स लगातार दुई खेलमा हार  बेहोरेर दबाबमा छ भने राजस्थान रोयलले यस सिजनका दुई खेलमा लगातार जित हासिल गरेर यो खेल खेल्दै छ ।


मुम्बई इण्डियन्सले आफ्नो पहिलो खेलमा गुजरात टाइटन्स र दोस्रो खेलमा सनराइजर्स हैदारावादसँग हार बेहोरेको थियो । त्यसैगरी राजस्थान रोयल्सले पहिलो खेलमा लखनउ सुपर जाइन्ट र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो ।

मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । मुम्बईका सुर्य कुमार यादव इन्जुरीका कारण यस खेलमा खेल्ने बारे अन्योलता रहेको छ । उनी पहिलो खेल खेलेका थिएनन् । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

त्यसैगरी राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियाँ पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।