विपद् उद्धारका लागि थप २० गोताखोर प्रहरी तयार



काठमाडौँ । सरकारको उद्देश्यअनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर तयार पारेका छन्। यसपटक १९ सशस्त्र प्रहरी कर्मचारी र एक नेपाल प्रहरी गरी २० गोताखोर तयार गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता राजेन्द्र खड्काका अनुसार पाँच हप्ताको उक्त तालिम त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोसी नदीमा दिइएको थियो। यस वर्ष गण्डकी प्रदेश सरकारको सहयोगमा गत वैशाख १० गतेदेखि सशस्त्र प्रहरीले २० प्रहरी कर्मचारीलाई पाँच हप्ते गोताखोर तालिम दिएको हो। योसँगै सशस्त्र प्रहरी बल नेपालमा हाल ७४ गोताखोर तालिमप्राप्त जनशक्ति तयार भएको खड्काले बताए।


सशस्त्र प्रहरी बल नेपालले गोताखोर परिचालन गरी हालसम्म दुई सय ७३ घटनामा आठ सय दुई जनाको जीवितै उद्धार तथा तीन सय १७ शव निकालेको उनले जानकारी दिए। यसअघि सशस्त्र प्रहरी बलले २५ सशस्त्र प्रहरी कर्मचारीलाई युएनडिपीको सहयोगमा बङ्गलादेशमा २०६९ वैशाखमा तीन महिने गोताखोर तालिम दिलाएको थियो।

गोताखोर तालिमप्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्यअनुरुप सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह बाहिनी मुख्यालयमा सुनसरीमा २०७६ असोज ९ गतेदेखि कात्तिक २५ गतेसम्म १९ सशस्त्र प्रहरी कर्मचारीलाई नेपालमै पहिलोपटक गोताखोर तालिम प्रदान गरिएको थियो। यस्तै सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयमा २०७९ वैशाख २५ देखि जेठ २९ गतेसम्म उनीहरूलाई गोताखोर तालिम प्रदान गरिएको थियो।

नेपाली सेनाको अगुवाइमा झापामा विपद् व्यवस्थापन नमूना अभ्यास गरिएको छ । अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको सहभागिता थियो ।

अर्जुनधारा नगरपालिका–९ स्थित सहिद स्मृति उद्यानको जलाशयमा उक्त अभ्यास गरिएको हो । बाढी र डुबानबाट निम्तिने विपद्का बेला सर्वसाधारणले अपनाउनुपर्ने सावधानी, बस्तीमा बाढी पसेपछि गरिने उद्धार कार्य, घाइतेको उपचार र राहत वितरणलगायतको कार्यको कृत्रिम अभ्यास प्रदर्शन गरिएको थियो ।

झापा मुलुककै बाढी तथा डुबानको उच्च जोखिम क्षेत्रमा पर्दछ । जिल्लाका १५ पालिकामध्ये भद्रपुर, अर्जुनधारा, मेचीनगर, कनकाई, शिवसताक्षी, दमक, गौरादह, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्ज र कमल पालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल बताए ।

बाढी र डुबानको उच्च जोखिममा रहेको हुँदा समुदायलाई सम्भावित क्षतिबाट जोगाउन सरोकारवाला निकायले बर्सेनि यस्तो अभ्यास गर्दै आएको र यसबाट उद्धारमा खटिने जनशक्तिको क्षमता अभिवृद्धि हुने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

नमूना अभ्यास क्रममा बाढी आएर बस्ती डुबानमा परेपछि कोलाहल मच्चिएको, वडाध्यक्षले आपत्कालीन उद्धार निकायमा सूचित गरेको, प्रमुख जिल्ला अधिकारीले उद्धारमा खटिन सुरक्षाकर्मी परिचालन गरेको, सावधानीका लागि साइरन बजेको, उद्धारमा खटिएका सुरक्षाकर्मीले रबरबोट तथा केराका थामको डुङ्गा बनाई पीडितको उद्धार गरेको, रेडक्रसकर्मीले घाइतेको प्राथमिक उपचार गरेको र राहत सामग्री वितरण गरिएकोलगायतका दृश्य देखाइएको थियो ।

झापामा प्रत्येक वर्ष बाढीबाट १० हजार परिवार प्रभावित हुँँदै आएको रेडक्रसको तथ्याङ्कमा उल्लेख छ । नेपाली सेनाको २१ नम्बर बाहिनीका सहायक रथी धनबहादुर थापा, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोमदेन, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाली सेनाको अरिदम गण चारआलीका प्रमुख सेनानी इमेशमेहर श्रेष्ठ, सशस्त्र प्रहरी २ नं गणका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजाललगायतले सामुदायिक विपद् व्यवस्थापनका लागि गरिएको नमूना अभ्यासको अवलोकन गरेका थिए ।

अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई सय जना र रेडक्रसकर्मी ५० जनाले भाग लिएका थिए । स्थानीय स्वस्तिका शिशु सदन र महारानीगञ्ज माविका विद्यार्थीलाई विपद्को अवस्था र जोखिम न्यूनीकरणबारे सुरक्षाकर्मीले प्रशिक्षण दिएका थिए ।