जापानी संसद्को कार्यालयमा आक्रमण गर्ने चेतावनी



जापानको संसदीय अधिकारीहरूले एक धार्मिक सङ्गठनका एक सदस्यले आफ्नो कार्यालय मास्ने धम्कीसहितको इमेल सन्देश प्राप्त भएको बताएका छन् ।

अधिकारीहरूका अनुसार ती इमेलहरू बुधबार राति संसद्को माथिल्लो र तल्लो सदन दुवैको वेबसाइटमा पठाई शुक्रबार दिउँसो सांसदको कार्यालयमा बम विष्फोट हुने चेतावनी दिइएको थियो ।


जापानको सरकारी प्रसारक एनएचकेका अनुसार ती इमेलमा संसद् भवनबाट सडकको विपरीत दिशामा रहेको सांसदको कार्यालय भवनभित्र ठूलो सङ्ख्यामा अत्यधिक विष्फोटक बम र सरीन नर्भ ग्यासयुक्त उपकरण राखिएको उल्लेख गरिएको छ ।

धार्मिक सङ्गठनका सदस्यले इमेलमा स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः३४ बजेदेखि राजनीतिज्ञको सामूहिक हत्या गरिने पनि बताएका छन् ।

खतराका कारण उच्च सतर्कतामा रहेका सुरक्षाकर्मीले शङ्कास्पद वस्तु र प्याकेटको खोजी गरिरहेका छन्, तर अहिलेसम्म कुनै अप्रिय घटना फेला परेको छैन ।