गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द



ढाका । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि अत्यधिक तापक्रमका बावजुद लाखौं बालबालिकालाई सोमबारदेखि विद्यालयमा उपस्थित भई नियमित कक्षा सञ्चालनको वातावरण बनाउन सरकारले आग्रह गरेको थियो । 

वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण तातो हावा चल्दा देशभर शिक्षक, कर्मचारी र विद्याथीहरू बिरामी परेका वा मृत्यु भएका खबरहरूपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो । पछिल्लो एक हप्तामा राजधानी ढाकाको औसत तापक्रम ३० वर्षको औसत तापक्रमभन्दा ४–५ डिग्री सेल्सियस बढी रहेको छ ।


सरकारले अप्रिलको सुरुदेखि नै अत्यधिक गर्मीका कारण कम्तीमा सात जनाको मृत्यु भएको र बिहीबारसम्म राजधानीको अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि रहने अनुमान गरेको छ । उपमहान्यायाधिवक्ता शेख सैफुज्जमानले भने, “उच्च अदालतको दुई न्यायाधीशको संयुक्त इजलाशले ‘गर्मीका कारण सबै प्राथमिक र माध्यमिक विद्यालय र मदरसाहरू बन्द गर्ने’ आदेश जारी गरेको छ ।

सैफुज्जमानका अनुसार वकिलहरूले गर्मीका कारण कैयौँ शिक्षकको मृत्यु भएको बताएपछि अदालतले उक्त आदेश जारी गरेको हो । अदालतले आगामी आइतबारसम्म अनुमानित तीन करोड २० लाख विद्यार्थीका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

गर्मी कायमै रहेपछि सरकारले अप्रिल २१ देखि एक हप्ताका लागि देशव्यापीरूपमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । ढाकामा आइतबारदेखि कक्षा सुरु भएको थियो र चिन्तित आफन्तहरू आफ्ना छोराछोरीसँगै विद्यालयको गेटमा पुगेका थिए ।

स्थानीय फातिमा तुज जोहोरले भने, “विद्यालयहरू बन्द गर्न गाह्रो छ किनभने बच्चाहरू घरमा पढ्न चाहँदैनन् । तर यो गर्मीमा उनीहरू कसरी विद्यालय आउन सक्छन् ?”  बङ्गलादेशको मौसम विभागले बिहीबारसम्म तापक्रम नघट्ने जनाएको छ । मौसमविद् मोहम्मद अबुल कलाम मल्लिकले आइतबार एएफपीसँग कुरा गर्दै सन् १९४८ मा रेकर्ड सुरु भएयता बङ्गलादेशमा यति ठूलो गर्मी नदेखिएको बताए । 

बढ्दो तापक्रमले बङ्लादेशको लगभग तीन चौथाई भागलाई असर गरिरहेको छ ।

मल्लिकका अनुसार जलवायु परिवर्तन र तीव्र शहरीकरण, वन फँडानी, पानीका मुहान खुम्चिँदै जानु र वातानुकूलनको बढ्दो प्रयोगजस्ता मानवसिर्जित कारणहरू उष्ण वायुको वर्तमान् समस्याका लागि जिम्मेवार छन् ।