राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा सहभागी नहुने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताए । सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग भएको सहमति तोडिसकेपछि आफू सरकारमा नबसेको स्पष्ट पारे ।


सत्तारुढ दलहरुले अझै सरकारमा आउन आग्रह गरे पनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरु सरकारमा नजाने उनले बताए । ‘हामीले सरकारमा जाने वा नजाने भन्ने बारेमा धेरै छलफल गरेनौँ । किनभने एउटा सहमति कायम गरेर हामी सरकारमा गएका थियौँ र सहमति तोडिएको जस्तो आभाष भइसकेपछि हामी सरकारबाट बाहिरिएका हौँ । पुनः सहमति हुनसक्यो र जनताको काम गर्ने अवसर आए हामी जान पनि सक्छौँ,’ सहमहामन्त्री बुर्लाकोटीले बताए ।