पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको महासचिव गुटरेसद्वारा निन्दा



संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गरेका छन् ।

पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी ५९ जनाको ज्यान गएको घटनाको उनले निन्दा गरेका हुन् ।


संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले घटनाको निन्दा गर्दै नागरिकको शान्तिपूर्ण रुपमा आफ्ना धार्मिक आस्था भएका स्थानमा उपस्थित हुन र पूजा गर्न पाउने अधिकारको सम्मान गर्नुपर्ने बताए ।

विश्वका नागरिकले आफ्नो आस्था रहेका स्थानमा जम्मा हुन पाउने र धार्मिक कार्य गर्न पाउने विश्वव्यापी मानवअधिकारको विषय हो भन्दै यस्ता कार्यको सम्मान गर्न उनले विज्ञप्तिमार्फत् आग्रह गरेका हुन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा लाइनमा बसेका व्यक्तिहरुलाई लक्षित गरिएको थियो । सुरक्षा अधिकारीहरूले बताएअनुसार विस्फोट हुँदा मस्जिदमा कम्तिमा १५० जना भन्दा बढी रहेका बताएका छन् । घाइते हुनेमा धेरै प्रहरी रहेको बताइएको छ ।