जुम्ली किसानलाई स्याउ बगैँचा काटँछाँटमा भ्याइनभ्याइ



जुम्ला । जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचा काटँछाँटमा भ्याइनभ्याइ भएको छ । हिउँदे समयमा स्याउ बगैँचा व्यवस्थापन गर्न लागिपरेको तिला गाउँपालिका–१ का टोपबहादुर बुढाले बताए ।

स्याउ बोटको काँटछाँट तथा यसको व्यवस्थापनमा तिलाका स्थानीयवासी जुटेका छन् । बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने भएकाले स्याउ बगैँचा व्यवस्थापन अनिवार्य गरिएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । यहाँका आठवटै स्थानीय तहमा बगैँचा व्यवस्थापन कार्यका साथै नयाँ बिरूवा लगाउने समय भएको यहाँका स्याउ किसान बताउँछन् ।


किसान यतिखेर खेतबारीको बगैँचामा स्याउ कटिङमा लागिपरेका छन् । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा किसानले बगैँचा काँटछाँट तथा व्यवस्थापन राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख खेमराज शाहीले बताए ।

स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैँचामै पुगेर स्याउ बगैँचा काटँछाँटदेखि स्याउ व्यवस्थापन गरिने कार्यालय प्रमुख शाहीले बताए । खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरूवासम्म छ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए

कृषि प्राविधिकको सल्लाहअनुसार स्याउका बिरूवा रोप्दा र समयमै बगैँचा व्यस्थापन गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुकिराम नेपालीको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, कृषि विकास कार्यालय र स्थानीय तहको कृषि शाखाले कृषकलाई बगैँचा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्दै आएका छन् । कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८÷०७९ मा छ हजार एक सय ७० मेट्रिक टन स्याउ जुम्लामा उत्पादन भएको छ ।

सिञ्जाद्वारा प्रविधिक कर्मचारीलाई ३५ प्रतिशत थप सुविधा

जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका कार्यरत इञ्जीनियरतर्फका प्रविधिक कर्मचारीलाई आन्तरिक स्रोतबाट थप ३५ प्रतिशत सेवा सुविधा (सहुलियत भत्ता) दिने भएको छ । नेपाल सरकाको प्रचलित तलब स्केलअनुसार स्थायी तथा अस्थायी प्राविधिक कर्मचारीको सेवा सुविधामाथि गाउँपालिकाले थप ३५ प्रतिशत दिने निर्णय गाउँ कार्यापालिकाबाट पारित भई कार्यान्वयनमा आउने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

प्रशासन र अन्य शाखामा कार्यरत कर्मचारीलाई यस्तो व्यवस्था गरिएको छैन । विशेषगरी प्राविधिक कर्मचारीको कार्यालयमा थप काम हुनेदेखि फिल्डमै काम गर्ने भएकाले प्राविधिक कर्मचारीलाई पालिकाको आन्तरिक स्रोतबाट थप सेवा सुविधाको व्यवस्था गरिएको अध्यक्ष धितालको भनाइ छ ।

प्राविधिक कर्मचारीको समस्या र उनीहरूको मागअनुसार पालिकाले उक्त व्यवस्था लागू गरेको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए । पालिकाको आन्तरिक स्रोत जुटाउनका लागि बालुवा गिट्टीको बोलपत्र भई काम सञ्चलानमा आएको छ । यो आर्थिक वर्षमा आन्तरिक राजस्व रु एक करोड ६० लाख उठाउने लक्ष्य पालिकाले लिएको छ ।