ब्याजदर घटाउन माग गर्दै उद्योगी, व्यवसायी आन्दोलित



काठमाडौँ । ब्याजदर तत्काल घटाउन माग गर्दै आएका उद्योगी, व्यवसायीहरुले सडक आन्दोलन सुरु गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी, व्यवसायीहरुले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसविरुद्ध मौन विरोध प्रदर्शन गरेका हुन् ।


उनीहरुले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

विगत ६ महिना यतामात्रै ब्याजदर दोब्बर वृद्धि गरेर आफूहरु मारमा परेकाले सरकारविरुद्ध सडक आन्दोलन सुरु गर्न बाध्य हुनु परेको महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । उनले स्वदेशी उद्योगी, व्यवसायीहरुलाई मारमा पार्ने काम बैंक तथा वित्तिय संस्थाहरुले गरेकाले मुलुकको अनधिकृत व्यापार फष्टयाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

व्यवसायीहरुले सरकारद्वारा बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनिकरणका लागि सुझाव दिन गठित उच्चस्तरीय समन्वय समितिले कामै नगरेकामा पनि आक्रोश पोखेका छन् । विरोध प्रर्दशनमा महासंघ अन्तरगतका सबै उद्योगी, व्यवसायीहरु सहभागी भएका थिए ।

उनीहरुले सेवा शुल्क कम गर्न, ब्याजदरमा स्थिरता कायम गर्न, एक अंक भन्दा बढि ब्याजदर नराख्न माग गर्दै प्ले कार्डहरु पनि प्रदर्श गरेका थिए । महासंघले ब्याजदर घटाउनेलगायतका माग राखी अर्थमन्त्री जनार्दन शर्मा तथा नेपाल राष्ट्र बैंकलाई पनि ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ ।