कांग्रेसले प्रत्यक्षतर्फ ८० सिट वरिपरि पाउने सम्भावना छः प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट गर्दा नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० सिट पाउने बताएका छन् ।

मंगलबार बिहान धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले बुधबारसम्म सिट बाँडफाँटको टुंगो लाग्ने जानकारी दिए। प्रचण्डले आफूहरूले ६० आसपास सिट पाउने पनि बताए। यसैगरी, एकीकृत समाजवादी र जसपाले २५/२५ सिट दाबी गरेको र सबै दलको दाबी अनुसार सहमति खोज्ने प्रयास भइरहेको बताए ।


उनले भने,‘नेपाली कांग्रेसले यसअघि सय सिट नभई हुँदैन भनिराखेको थियो। अहिले कांग्रेस ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले पनि ६० भनेका छौं । ६० बाट केही तलमाथि होला तर त्यसैको वरिपरि होला भन्ने हाम्रो विश्वास छ । त्यसैगरी समाजवादी पार्टीले २५ वरिपरि भन्ने गरेको स्थिति छ। जसपाले पनि २५ को वरिपरि नै दाबी गरिराखेको स्थिति छ। यसैलाई आधार बनाएर कार्यदलले क्षेत्र र प्रदेशसम्म हेरेर एकैपटक टुंग्याउने भनेर लागिरहेको छ।’

उनले मिलेको जति कार्यदलले मिलाउने र मिल्न बाँकीलाई शीर्ष तहमा बसेर टुंग्याउने बताए।