कांग्रेसद्वारा तनहुँ–२ मा सहमतिमा उम्मेदवार सिफारिस



तनहुँ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सहमतिमा उम्मेदवार सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिले बिहीबार सहमतिमा उम्मेदवारको नाम टुङ्गो लगाई जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो ।

नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्र र विधानले दिएको अधिकारमा रहेर बसेको क्षेत्रीय कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिको संयुक्त बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ एक पुरुष तथा एक महिलाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति चूडामणि खनालले जानकारी दिए ।


प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य प्रदीप पौडेल, धु्रव वाग्ले र जिल्ला सभापति जितप्रकाश आले सिफारिस भएका छन् । समानुपातिकतर्फ पुरुषतर्फ क्षेत्रीय सचिव सन्तोष घिमिरे र महिलातर्फ नेपाल महिला सङ्घ जिल्ला उपसभापति चन्द्रकला भट्टराई सिफारिस भएका छन् ।

सम्भावित उम्मेदवारको नामावली सर्वसम्मत र पार्टीको वर्तमान मर्यादाक्रमअनुसार पठाइएको तथा पार्टीले यी नामभित्रबाट गर्ने निर्णयमा क्षेत्रीय समिति सहमत रहने निर्णय भएको खनालले बताए ।

यसैगरी तनहुँ क्षेत्र नम्बर २ प्रदेश (क) प्रदेश समितिले पनि उम्मेदवार सिफारिस गरेको छ । प्रदेशतर्फ प्रत्यक्ष र समानुपातिकमा आवेदन दर्ता गराएका उम्मेदवार सिफारिस गरी पठाइएको हो ।

प्रत्यक्षतर्फ प्रा डा कृष्णप्रसाद गौतम, किसान गुरुङ, श्रीराम सुवेदी, हरिप्रसाद वाग्ले, चामबहादुर थापा, माधव भट्टराई, डा शेषरमण न्यौपाने र यामबहादुर खाँण ठकुरी सिफारिस भएका छन् ।

समानुपातिकतर्फ खुलामा डिल्लीराम अधिकारी, रामबहादुर अधिकारी, सूर्यभक्त भण्डारी, श्यामबहादुर केसी, विष्णुहरि पाठक, जनजातितर्फ भक्तबहादुर श्रेष्ठ, भीमबहादुर थापा, जितराज राना, गोपीबहादुर गुरुङ, निरबहादुर पुन, श्यामकृष्ण मल्ल, हीराबहादुर थापा र चन्द्रबहादुर गुरुङ तथा महिलातर्फ लक्ष्मी सिग्देल, पवित्रा घिमिरे, विष्णु मल्ल, रसामाया गुरुङ, तारादेवी लम्साल अधिकारी र राधादेवी पौडेल सिफारिस भएका छन् । दलिततर्फ रामकृष्ण विक र विनबहादुर परियार, अल्पसङ्ख्यकतर्फ रोजिना खातुन सिफारिस भएका छन् ।