राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्नुपर्छः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

शुक्रबार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक विकासको लागि सरकार सदैव प्रतिवद्ध रहेको बताएका हुन् ।


उनले गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शंकरदेव क्याम्पसलाई नजिकैको खालि रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

उनले क्याम्पसलाई अध्ययनको लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रिपरिषदमा छलफल गर्ने र जग्गा उपलब्ध गराउने बताए ।

उनले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान नहुने उल्लेख गरे । प्रधानमन्त्री देउवाले शैक्षिक क्षेत्रको उन्नयनको लागि सरकार र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए ।