३४ वर्षपछि पुरानै धारमा फर्कियाे कोसी : सयौं घर परिवारको बिचल्ली (फोटोफिचर)



विराटनगर । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेसँगै डुबानमा परेको बस्तीका बासिन्दाहरु प्रभावित भएका छन् । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेको उदयपुरको बेलका नगरपालिका १,२,३,८ र ९ नम्बर वडाको क्षेत्रमा बाढी पसेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडा पनि डुबानमा परिसकेको छ ।

बुधबार बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । जसको असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा शतर्कता अपनाइएको छ । बस्तीमा पसेका कारण आसपासका उदयपुर, सुनसरी, सप्तरी लगायतका जिल्लाका करिव २० हजार मानिस प्रभावित हुनसक्ने आँकलन गरिएको छ ।


नदीको धार पुरानो ठाउँमा फर्किंदा बस्ती डुबानमा परेको स्थानीयहरुको भनाइ छ । बस्तीमा बाढी पसेसँगै स्थानीयहरु आफ्ना सामान पोको पारेर सुरक्षित स्थानतर्फ लागेका छन् । गाउँ डुब्नसक्ने भन्दै सरकारले सुरक्षित स्थानमा जान आग्रह गरेपछि उनीहरु सुरक्षित स्थानमा लागेका हुन् । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।