संस्कृत क्षेत्रमा विशेष सम्मान र शोधवृत्ति प्रदान गर्ने घोषणा



काठमाडाैँ । विश्व संस्कृत दिवसको अवसरमा प्रत्येक वर्ष प्रदान गर्ने गरी संस्कृत क्षेत्रमा विशेष सम्मान र रु एक लाख राशिको शोधवृत्ति को घोषणा गरिएको छ । जरो किलो प्रतिष्ठान नेपालले उक्त विशेष सम्मान र शोधवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।

संस्कृत क्षेत्रमा प्रभावकारी योगदान पु¥याएका वरिष्ठ एवं वयोवृद्ध विद्वान–विदुषीमध्येबाट एक जनालाई समष्टि योगदानको कदर हुने गरी विशेष सम्मान गरिने निर्णय भएको विश्व संस्कृत दिवसका सङ्कल्पकर्ता एवं काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा निर्मलमणि अधिकारीले जानकारी दिए । संस्कृत माध्यमबाट प्राचीन वा आधुनिक विषयवस्तुबारे अनुसन्धानका लागि युवा पुस्ताका संस्कृतज्ञलाई शोधवृत्ति प्रदान गरिने पनि उनले बताए ।


शोधवृत्तिको नामकरण उपनिषद्कालीन ऋषि उद्दालक आरुणिको नामबाट भएको छ । ऋषि आरुणिले विज्ञानका आधारभूत विधि परीक्षण र पर्यवेक्षणको प्रयोग गरी अनुसन्धान गरेको एवं गराएको साक्ष्य छान्दोग्य उपनिषद्बाट प्राप्त हुने इन्टरनेशनल फेडेरेशन अफ् सनातन धर्मका अन्तर्राष्ट्रिय अध्यक्ष पनि रहनुभएका डा. अधिकारीले स्पष्ट पारे ।

आरुणि संस्कृत शोधवृत्तिअन्तर्गत तयार हुने कृतिको प्रकाशन जरो किलो महाअभियान परिवारले गर्ने महाअभियानका संस्थापक उपाध्यक्ष डा. गोविन्दशरण उपाध्यायले जानकारी दिए । यसै वर्ष घोषणा गरिएको विशेष सम्मान प्रा.डा. दीर्घराज घिमिरेलाई प्रदान गरिने विश्व संस्कृत दिवस कार्यपरिषद्ले जनाएको छ ।

प्रा घिमिरेले नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापनका साथसाथै स्वतन्त्र रूपमा पनि अनुसन्धान, लेखन, प्रवचन आदिमार्फत् संस्कृतका क्षेत्रमा गर्नुभएको समष्टि योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो । प्रा.डा. घिमिरे हाल सनातन विद्वत् परिषद्को अध्यक्ष पनि हुन् । आरुणि संस्कृत शोधवृत्ति त्रिभुवन विश्वविद्यालय, संस्कृत केन्द्रीय विभागका उपप्राध्यापक रोहिणीराज तिमिल्सिनालाई प्रदान गरिने भएको छ ।

अद्वैत वेदान्त दर्शनमा विद्यावारिधि शोधार्थी तिमिल्सिना संस्कृत पाठ्यपुस्तक लेखन, अनुवाद, अनुसन्धान एवं भाषा प्रशिक्षणमा पनि सक्रिय रहेका छन् । तिमिल्सिनाले राज्य राष्ट्र पुस्तकलाई संस्कृत भाषामा अनुवाद एवं सम्पादन गर्नुभएको योगदानको कदर गर्दै आरुणि संस्कृत शोधवृत्ति प्रदान गर्ने घोषणा गरिएको हो ।

शोधवृत्तिले संस्कृत क्षेत्रमा शोध संस्कृतिको प्रवद्र्धनमा योगदान गर्ने अपेक्षा राखिएको विश्व संस्कृत दिवस कार्य परिषद्का संयोजक एवं नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा. माधवप्रसाद पाण्डेयले बताए । सम्मान र शोधवृत्ति यही साउन २७ गते आयोजना हुने पाँचौँ विश्व संस्कृत दिवसको मूल समारोहमा प्रदान गरिने छ ।

प्रत्येक वर्ष तिथिअनुसार श्रावण शुक्ल पूर्णिमा अर्थात् ऋषितर्पणीका दिनमा मनाइने विश्व संस्कृत दिवसको प्रारम्भ जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि भएको हो । यस वर्ष पाँचौँ विश्व संस्कृत दिवस नेपाललगायत करिब ३० देशमा मनाउने तयारी गरिएको छ ।

पाँचौँ विश्व संस्कृत दिवसको आयोजनाका लागि नेपाल र विदेशका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था, धार्मिक संस्था एवं संस्कृत अभियानकर्मीको सहकार्यमा दिवस मनाउन लािगएको प्रतिष्ठानका अध्यक्ष बलराम प्रजापतिले बताए ।