नागार्जुनको सुप्रभात काव्यगोष्ठी पुनः सञ्चालन



काठमाडाैँ । नागार्जुन साहित्यिक प्रतिष्ठानले विगतमा सञ्चालन गरेको सुप्रभात काव्यगोष्ठीलाई पुनः निरन्तरता दिएको छ । लोकतान्त्रिक जनआन्दोलनमा ‘मुक्तिका लागि कविताको आह्वान’ को उद्घोषसहित थालनी गरिएको सो मासिक शृङ्खला संविधान र गणतन्त्रको संस्थागत विकास, सुशासन र जनजीविकाका सवालमा साहित्यका तर्फबाट खबरदारी गर्न पुनःसञ्चालन गरिएको हो ।

दाहालको दैलो, अनामनगरमा आयोजित आजको शृङ्खलामा कविहरु डा विनोद मञ्जन, प्रकाश सिलवाल, दिल पौडेल, भरत शर्मा, दिलविनोद खड्का, युवराज नास्तिक, माधव घिमिरे ‘अटल’, सुशीला शर्मा, सुजिता अविरल, गङ्गा खतिवडालगायतले कविता वाचन गरे । वाचित कवितामाथि समीक्षा गर्दै डा मञ्जनले कवितामा विचार, कल्पना, अनुभूति, बिम्ब, प्रतीक र कवित्व हुनुपर्नेमा जोड दिए । उनले नागार्जुनले लोकतान्त्रिक साहित्यिक आन्दोलनमा सूत्राकारको काम गरेको र अबको दिनमा पनि सिर्जनाका माध्यमबाट अग्रगमनका पक्षमा खबरदारी गर्न आग्रह गरे । उक्त काव्यगोष्ठी हरेक महिनाको तेस्रो शनिबार बिहान सञ्चालन हुनेछ ।