एमालेले प्रधानन्यायाधीशलाई जोगाउन चाहिरहेको छ : सांसद गजुरेल



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई जोगाउन लागेको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका क्रममा सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको आरोप लगाएका हुन् ।


उनले महाअभियोग पारित गर्न दुई तिहाई चाहिने र त्यसको निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्षी दल पारित गराउन नलागेको बताए ।

उनले प्रतिपक्षले जबरालाई जोगाउने गरी बोल्दा जनताको नजरबाट गिर्ने डरले प्रतिपक्षले जिब्रो चपाएर कुरा गरेको बताए । उनले भने, ‘सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा आएर यसलाई छिटोभन्दा छिटो गरुँ भन्नेमा सहमती दिनुपर्ने ठाउँमा, दुई तिहाई नभइ त यो पारित हुँदैन । प्रतिपक्षले सहयोग नगरी पारित हुँदैन । प्रतिपक्ष त अगाडी आउनुपर्यो नि ल तपाईंहरु अगाडि बढाउनुस् हामी छौँ । तर आज प्रतिपक्ष जिब्रो चपाएर कुरा गरिराखेको छ । यहाँ सोझै बोल्न गाह्रो छ । प्रतिपक्ष जोगाउन चाहिराखेको छ । सोझै बोल्दा जनताको नजरमा आफ्नो पार्टीको छवि, व्यक्तिको छवि गिर्छ । यस्तो गर्नुहुन्न । यस्तो विषयमा पनि सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा नउभिनु दुखद् कुरो हो ।’

उनले महाअभियोगको विषयमा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिन नसक्नु दुःखद् भएको बताए ।