राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेले दिए राजीनामा



काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफनो पदबाट राजीनामा घोषणा गरेका हुन् ।

उनले आफनो निर्णय अहिलेसम्मकै कठिन निर्णय रहेको भन्दै व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रशिक्षक दासानायकेलाई गत गतवर्ष मङ्सिरमा खुला छनोटबाट दुई वर्षका लागि दोस्रो पटक नियुक्त गरेको थियो । उनले एक वर्ष पनि नपुग्दै पदबाट राजीनामा दिएका छन् ।


दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षको जिम्मेवारी बहन गरेका थिए । उनको पहिलो कार्यकालमा नेपालले निकै ठूलो र ऐतिहासिक सफलता हासिल गरेको थियो । सन् २०१४ मा बङ्गलादेशमा आयोजित आइसिसी टि–ट्वान्टी विश्वककप प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिताको मौका पाएको थियो । त्यस्तै उनकै प्रशिक्षणमा नेपालले डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो ।

उहाँको पहिलो कार्यकाल निकै फलदायी भए तापनि दोस्रो कार्यकालले खासै सफलता हासिल गर्न सकेन । यसैसाता स्कटल्याण्डमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत घरेलु टोली स्कटल्याण्ड र नामिवियावीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा सफलता हासिल नगरेपछि उनी आलोचित बन्न पुगेका थिए ।

त्यतिबेला नेपालले खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित हात पारेको थियो । पछिल्लो समय राष्ट्रिय क्रिकेट टोलीको खराब नतिजाका कारण उनी दबाबमा परेका थिए ।