बाँकेमा निर्वाचन खर्चको विवरण बुझाएनन् राजनीतिक दलले



बाँके । बाँकेमा कुनै पनि राजनीतिक दलले स्थानीय तह निर्वाचन २०७९ मा खर्च भएको विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालयले सूचना प्रकाशन गरेर गत असार ११ गतेसम्म स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण बुझाउन उम्मेदवारलाई आग्रह गरेको थियो ।

तर म्याद सकिएको लामो समय भइसक्दा पनि कुनै दलले स्थानीय निर्वाचनको खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख रमा पन्तले जानकारी दिए । “उहाँहरुले स्थानीय तह निर्वाचनको समयमा नै खर्च विवरण बुझाउनु भएन, अब जरिवाना लाग्छ”, उनले भने । प्रमुख पन्तले दलहरुलाई यस विषयमा सबै जानकारी भएको उल्लेख गर्दै खर्च विवरण बुझाउने उहाँहरुको दायित्व भएको बताए । “हामीले बारम्बार ताकेता गरेका थियौँ तर उहाँहरु केही घर बनाउने काममा लागेको र केही अन्य काममा व्यस्त भएको पाइयो”, प्रमुख पन्तले भने ।


स्थानीय तह निर्वाचनमा जीत हासिल गरेका र पराजित भएका सबैले स्थानीय तहको निर्वाचनको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्छ । बाँकेमा केही प्रमुख राजनीतिक दलले खर्च विवरण बुझाउन फाराम लिएर गए पनि निर्वाचन कार्यालयमा नबुझाएको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत २९ दल दर्ता भएकामा स्थानीय तहको निर्वाचनमा २४ दल सहभागी भएका थिए । खर्च विवरण नबुझाएका उम्मेदवारलाई कति जरिवाना तोक्ने भन्ने विषयमा निर्वाचन आयोगले निर्णय गर्ने बताइएको छ ।