सप्तकोसीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

Highest water flow was measured this year in the Saptakoshi River due to continuous rainfall, in Saptari, on Tuesday, September 13, 2016. Photo: THT


राजविराज । सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो ।

कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले १६ ढोका खोलिएका छन् । पानीको बहाव बढ्दो क्रममा रहे पनि तटबन्ध र स्पर सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।


सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टामा बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी वर्षाका कारण कोसीको जलस्तर बढ्दो क्रममा छ ।

यसैबीच कोसीको तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ । बहाव बढेसँगै नदीमा डुङ्गा चलाउन रोक लगाइएको छ । माछा मार्न तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ ।