प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्न माधव नेपालकाे निर्देशन



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता र कार्यकर्ताहरूलाई सम्पूर्ण ध्यान प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा लगाउन निर्देशन दिएका छन् । उनले अरुको भर नपरी सम्पूर्ण शक्तिका साथ निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । 

अध्यक्ष नेपालले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवार खडा गर्न तयारी गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा पार्टी केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवार खडा गरेर काम थाल्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।


उनले ३३० प्रदेश सभा सदस्यका लागि पनि अहिलेदेखि नै जिम्मेवारी दिनुपर्ने बताए । उनले अरुको भर नपरी सम्पूर्ण शक्ति परिचालन गरेर निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । समानुपातिक मत संख्या बढाउन सके सिट संख्या पनि बढ्ने उल्लेख गर्दै अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरुले २० लाख मत ल्याउने दावी गरे ।

विचार नभएको पार्टीले केही गर्न नसक्ने भन्दै उनले विचार शून्य भएको कार्यकर्ताले पनि केही गर्न नसक्ने बताए । अध्यक्ष नेपालले नेपाल विभिन्न शक्ति राष्ट्रबीचको द्वन्द्वको अखडामा पर्ने खतरा देखिएको बताए ।

उनले भने,‘शक्ति राष्ट्रहरुले अनेक ढंगले षडयन्त्रपूर्वक दाउपेच गरिरहेका छन्। हामी नेपालीहरु हाम्रो राष्ट्र कतै शक्ति राष्ट्रको द्वन्द्वको अखडामा नेपाल पर्ने त होइन भन्ने चिन्ता थपिएको छ । यसबाट हामी सजग हुनुपर्दछ।’ असंलग्न परराष्ट्र नीति अवलम्बन हुनुपर्ने भन्दै अध्यक्ष नेपालले हरेक देशसँग नेपालले मित्रता भाव राखेर अघि बढ्नुपर्ने बताए ।