तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



चितवन । भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । भरतपुर महानगरपालिका–१८ गुञ्जनगर माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो ।

एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रतियोगिताको उद्घाटन गरिन् । प्रमुख दाहालले राष्ट्रपति रनिङ शिल्ड दक्ष खेलाडी उत्पादनको माध्यम भएको बताइन् । रनिङ शिल्डले भरतपुरमा दक्ष खेलाडी उत्पादन गर्ने वातावरण पनि सिर्जना भइरहेको दाहालको भनाइ थियो ।


भरतपुरलाई खेलकुद हबका रुपमा विकास गर्ने उद्देश्यसहित विभिन्न पूर्वाधार बनाउने कार्य भइरहेकोसमेत प्रमुख दाहालले जानकारी दिइन् । एक वडा, एक खेल मैदान, एक विद्यालय, एक खेल मैदान, नगरस्तरीय खेल मैदान, प्रदेशस्तरीय खेल मैदान तथा अन्तर्राष्ट्रिय खेल मैदान निर्माण भइरहेको उनको भनाइ थियो ।

उपप्रमुख चित्रसेन अधिकारीले कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा तीन वर्षदेखि भरतपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन नसक्दा खेलाडी उत्पादन हुन नसकेको बताए । खेल क्षेत्रबाट राज्यलाई चिनाउन यस्ता प्रतियोगिता आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतियोगितामा भलिबल, कबडी, एथलेटिक्स गरी तीन विधाका खेल हुने भरतपुर शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले बताए । प्रतियोगितामा भरतपुरका सामुदायिक र निजी गरी ५० वटा विद्यालयको सहभागिता रहेको उनले जानकारी दिए ।

बढ्दो गर्मीका कारण प्रतियोगिता बिहानको समयमा गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई प्रदेश हुँदै सङ्घमा प्रतिस्पर्धाका लागि पठाइनेछ ।