अझै पनि संघीयता उल्टाउन चाहानेहरु छन् : प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने मानिसहरु रहेका बताएका छन् ।

मंगलबार सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा अध्यक्ष प्रचण्डले नेपालका लागि आमजनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभुत गर्ने गरी विकासमा गति लिने र फड्को कसरी मार्ने भन्ने महत्वका साथ उठाउनु पर्ने बताए ।


उनले संघीय लोकतान्त्रिक गणतन्त्र वा समावेशी समानुपातिक चरित्रको यो संविधानलाई त्यति रुचीकर नठान्ने केही व्यक्ति रहेका बताए ।

उनले भने, ‘एउटा प्रवृति छ, संघीय लोकतान्त्रिक गणतन्त्र वा समावेशी समानुपातिक चरित्रको यो संविधानलाई त्यति रुचीकर ठान्दैन । त्यो प्रवृति अहिले पनि तपाई हामीले देखिरहेका छौँ । कुनै न कुनै रुपले यसलाई विघटन गर्ने, वा यसबाट अर्को दिशातर्फ लाद्ने कसरतहरु भइरहेका छन् । यस्तो परिस्थितिमा हामीले संविधानले र परिवर्तनले र आम जनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभुत गर्ने गरी विकासमा हामीले गति कसरी लिने, फड्को कसरी मार्ने भन्ने कुरा असाध्यै महत्वपूर्ण छ ।’

उनले अहिलेको २१ औँ शताब्दीको विश्व, ग्लोबलाइज र डिजिटलाइज भएको भन्दै यसको प्रभावले हाम्रो विकास मोडेलमा पारेको नकारात्क र सकारात्मक प्रभावलाई गम्भीरताका साथ अध्ययन गरेर मौलिक किसिमको तरिकाबाट देशको विकास गर्न आवश्यक रहेको बताए ।

उनले  बढ्दो सहरीकरण र त्यसबाट पैदा भएका विभिन्न समस्यालाई समाधान गरेर सहर व्यवस्थापनमा ध्यान दिनु अबको आवश्यकता रहेको बताए । उनले विकास निर्माणका लागि आवश्यक ऐनहरू बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गरिनुपर्ने बताए ।