गाईले नब्याउँदै दूध दिन थालेपछि…



पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग छन् । विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा व्याउने भन्दै ढुक्क बनेका पौडेललाई जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध झरेको देख्दा अचम्भित भए ।

साढे दुई वर्षको मिनिजर्सी सो बाच्छीले त्यसयता प्रत्येक दिन बिहान बेलुका दुई÷ दुई लिटरका दरले दूध दिन थालेपछि यतिखेर उनको घरमा गाई हेर्न छिमेकीहरु पुग्न थालेका छन् । उनले भने, “दूध भने कहिल्यै पनि फाटेन । अहिले खाएर बाँकी रहेको दूध दही बनाएर मोत्था घ्यू पनि राम्रो लाग्ने गरेको छ ।”


गाई नव्याउँदै दूध दिने विषय बिरलै हुने गरेको बताउने पशु चिकित्सक डा मधु तिमिल्सिना हार्माेनको कारणबाट यस्ता दुर्लभ घटना हुने धारणा राख्छन् ।

उनी भन्छन, “नब्याउँदै गाईले दिएको दूध खाँदा भने कुनै समस्या हुँदैन । उन्नत जातका गाईका बाच्छीले पहिलो बेतमै प्रोगेस्टोन हार्माेन वृद्धिले दूध उत्पादन गर्ने भएको कारण नव्याउँदै दूध दिन थालेको हो,” उनले भने, “यस अवस्थाका गाईमा थुनेलो हुने समस्या आउने भएकाले कल्चौडा सफा राख्ने, थुनमा बेटाडिन लगाउने गर्नु पर्दछ ।”

नब्याउँदै गाईले दूध दिन थालेपछि दङ्ग परेका निर्मलपोखरी गाविसका पूर्व उपाध्यक्ष समेत रहेका पौडेल र उनकी श्रीमती सीतालाई यतिखेर गाई हेर्न आउने छिमेकीलाई गाईका बारे बताउन भ्याइनभ्याइ छ ।