Category: प्रदेश २

  • वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    पर्सा । वीरगञ्जलाई विरुप बनाएका बिजुलीका खम्बाका तार आगामी १५ दिनमा हटाइने भएको छ । स्थानीय प्रशासनले बिजुलीका खम्बामा लत्रिएका टेलिफोन, इन्टरनेट र केबलका तार हटाउने निर्णय गरेको हो । 

    पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा मङ्गलबार भएको जिल्ला विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँगको बैठकले नगर क्षेत्रका अव्यवस्थित तारलाई १५ दिनभित्र  व्यवस्थित गर्ने निर्णय गरेको हो । 

    तार व्यवस्थापनको अनुगमनका लागि प्रहरी नायब उपरीक्षक किशोर लम्सालको संयोजकत्वमा नेपाल टेलिकम, वीरगञ्ज महानगर, नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्र, ग्रिनिसिटी सामुदायिक सेवा केन्द्र र आइस्पानका प्रतिनिधि सम्मिलित कार्यान्वयन एवं अनुगम टोली गठन गरी बुधबारदेखि नै परिचालन गर्ने निर्णय भएको छ । 

    नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश दुवेले वीरगञ्ज सहरमा अव्यवस्थित रूपमा रहेका तारमा आगजनीका घट्न बढ्दै आइरहेको पनि नियन्त्रण गर्न आवश्यक रहेको बताए। 

    नेपाल टेलिकम वीरगञ्ज कार्यालय प्रमुख मनिष गुप्ताले सामूहिक प्रयासले मात्र अव्यवस्थित तार व्यवस्थापन गर्न सकिने बताए । 

    वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले  अव्यवस्थित तार हटाउने कार्यमा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । 

    नेपाल टेलिकम  मधेस प्रादेशिक कार्यालय प्रमुख कुसुमप्रसाद भण्डारीले एकअर्का निकायबीच समन्वय नहुँदा तार व्यवस्थापनमा जटिलता थपिएको बताए । 

    पर्साका प्रहरी प्रमुख गौतम मिश्रले सरोकारवाला निकायले तोकिएको समयसीमाभित्र नै तार व्यवस्थापन नगरेको खण्डमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए । 

    वल्र्डलिङ्क वीरगञ्ज र सिजिनेट वीरगञ्जका प्रतिनिधिद्वय सुचित पौडेल र शेख सजाजले तार व्यवस्थित गर्ने अभियानमा आफूहरूले पनि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

  • मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    सिरहा। सवारी ज्यान मुद्दा मिलाइदिन्छु भन्दै रू एक लाख ७० हजार ठगी गर्ने एक व्यक्तिलाई सिरहा प्रहरीले सोमबार पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरका प्रमोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

    उनका अनुसार, सिरहा नगरपालिका–१६ माडरका विवेक यादव सवारी ज्यान मुद्दामा हिरासतमा रहँदा मुद्दा मिलाइदिने भन्दै महतोले रकम लिएका थिए। विवेककी आमा रानीदेवी यादवले आफूसँग उनले २०८१ असार २७ मा रू एक लाख ७० हजार लिएको जाहेरीमा उल्लेख गरेको प्रहरूले जनाएको छ।

    पीडितको जाहेरीका आधारमा प्रमोदलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत सिरहाबाट चार दिनको म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेको भन्दै कसैले काम गराइदिन्छु भन्दै अनुचित लाभ लिन खोजेमा प्रमाणसहित प्रहरीमा उजुरी गर्न प्रहरी नायब उपरीक्षक पासवानले आग्रह गरे।

  • पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि

    पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि

    सिरहा । लहान नगरपालिका–२० स्थित मलहन्वाकी चन्द्रमाला सिंह २०४७ सालदेखि महिला स्वास्थ्य स्यवंसेविकाको भूमिकामा छन् । गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण गराउन सचेत गराउने उनको मुख्य जिम्मेवारी हो ।

    पहिले गाउँघरका गर्भवती स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउने प्रचलन न्यून थियो । पछिल्ला वर्षमा सो सङ्ख्यामा वृद्धि भएको उनको अनुभव छ ।

    “पहिले गर्भवतीले स्वास्थ्य संस्थामा गर्भावस्था सम्बन्धमा चेकजाँच गराउने चलन थिएन । अस्पतालको सहज पहुँच पनि थिएन र नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने चेतना पनि थिएन”, उनले भने, “सूचना प्रविधिको विकास र विभिन्न तालिम तथा गोष्ठी सञ्चालन पछि उनीहरु नियमित परीक्षण गराउन थालेका हुन् ।”

    पछिल्लो समय दतिल तथा मुसहर समुदायका गर्भवती पनि नियमित गर्भावस्था परीक्षण गर्ने गरेको उनले जानकारी दिए । यसरी स्वास्थ्य संस्थामै नियमित परीक्षण गर्ने गर्भवतीको सङ्ख्या वृद्धि हुनुको मुख्य कारण चाहिँ नगरपालिकाले तीन वर्ष अघिदेखि सुरु गरेको सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम हो । स्वास्थ्य संस्थामा नियमित गर्भावस्था परीक्षण गर्ने महिलाहरुलाई पोषण प्याकेज प्रदान गरिन्छ ।

    लहान नगरपालिकाले नगरक्षेत्रभित्रका सबै वडाका गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सुरु गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । यसै कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज लहान–२० का ४८ गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिएको छ ।

    नगरप्रमुख महेश प्रसाद चौधरीले भने, “मापदण्डअनुसार गर्भजाँच गरेमा आमा र नवजात शिशुको स्वास्थ्य राम्रो हुन्छ । यस पोषण कार्यक्रमले मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु ।”

    नगरप्रमुख चौधरीले महिलामा पोषणको कमी नहुने र मापदण्डअनुसार नियमित परीक्षण कार्यक्रम प्रभावकारी हुने भएकाले यस कार्यक्रमलाई आफू नगरप्रमुख भएदेखि सञ्चालन गरेको बताए । उनले आगामी दिनमा सुत्केरी तथा गर्भवती पोषण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । वडा नं १६ को तरेगणा र वडा नं १९ को सोनवतीमा ‘बर्थिङ सेन्टर’ निर्माण गर्न लागिएको जानकारी उनले दिए ।

    सोही क्रममा लहान–२० का वडाध्यक्ष गणेशप्रसाद चौधरीले नगरको यस पोषण प्याकेज अभियान अतिविपन्न तथा असहाय परिवारकालागि प्रभावकारी भएको बताए । सो प्याकेजमा चामल, दाल, नुन, तेल, चना, मोटर, सोयाविनलगायत खाद्यान्न सामग्री छन् ।

  • मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    मलङ्गवा (सर्लाही) । बरहथवा नगरपालिका–१७ कटानीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

    कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा ना ४६ प २८२० नम्बरको मोटरसाइकल आज बिहान पुलबाट खस्दा मलङ्गवा नगरपालिका–४ निवासी ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए ।

    टाउको, निधार र दुबै आँखामाथि गहिरो चोट लागेका रायलाई बरहथवामा प्राथमिक उपचारपछि बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो । उपचारका क्रममा निजको मृत्यु भएको उनले बताए । 

  • वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात

    वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात

    वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु पाँच खर्ब छ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन् । आव २०८० र८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाका हुँदै भित्रिने समानको हिस्सा १२ दशमलव ७५ अर्थात् रु ५७ अर्ब ३० करोड बढी मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन् । 

    चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्र रु एक खर्ब ५५ अर्ब ९४ करोडको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ । जसको हिस्सा रु ४५ अर्ब ७९ करोड रहेको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने चालु आवमा आयात र निर्यात दुवैमा वृद्धि भएको बताउँछन् । चालु आवको १० महिनामा रु २९ अर्ब दुई करोड मूल्यका मेसिनरी तथा तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै रु २८ अर्ब ५१ करोड मूल्यका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा रु २३ अर्ब ८५ लाख मूल्यका सबै प्रकारका एलोपेथिक औषधि भित्रिएका छन् ।

    चालु आवको १० महिनामा आयात मात्र नभएर निर्यातमा पनि उल्लेखीय वृद्धि भएको देखिन्छ । चालु आवको १० महिनामा रु ७९ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको देखिन्छ । जबकि गत आवको १० महिनामा यो नाका हुँदै रु २५ अर्ब ४८ करोड मूल्यबराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने दुई सय १० दशमलव १६ प्रतिशत अर्थात् रु ५३ अर्ब ५५ करोड बढीको निर्यात भएको हो ।

    चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ । चालु आवको १० महिनामा रु ४६ अर्ब ५३ करोड मूल्यका २१ करोड ९२ लाख ४६ हजार ६५१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकि गत आवको सोही अवधिमा रु नौ करोडका चार लाख ६४ हजार ९३ लिटरमात्र निर्यात भएको थियो । चालु आवको १० महिनामा रु सात अर्ब २७ करोडको तीन करोड ५२ लाख २३ हजार ८२४ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकि गत आवको १० महिनामा रु १० करोडको पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।

  • सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि वीरगञ्ज नाकामा सतर्कता अपनाइँदै

    सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि वीरगञ्ज नाकामा सतर्कता अपनाइँदै

    पर्सा। छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै सीमावर्ती बजार वीरगञ्जमा पनि सतर्कता अपनाउन थालिएको छ। भारतबाट स्थलमार्ग र रेल्वेमार्ग हुँदै वीरगञ्ज प्रवेश गर्ने यात्रुमाथि स्वास्थ्य जाँच गर्न थालिएको हो।

    पर्साको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको यही जेठ १५ गते बसेको बैठकले कोभिडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमानाकामा स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

    वीरगञ्ज महानगरका प्रमुख राजेशमानसिंह वीरगञ्ज नाकामा स्थापना गरिएको सहायता कक्ष (हेल्थ डेस्क)को सोमबार निरीक्षण गर्दै छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको वृद्धि भएकाले नाका प्रदेशमा सतर्कता अपनाउन जरुरी रहेको बताए।

    “छिमेकी मुलुकमा बढ्दै गएको कोभिड सङ्क्रमणलाई ध्यान दिँदै यहाँ फैलन नदिन विशेष सर्तकता अपनाउन थालिएको हो”, उनले भने, “नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई अझै प्रभावकारी बनाउने प्रयास भइरहेको छ।”

    महानगरका अनुसार हेल्थ डेस्कमा मास्क, स्यानिटाइजर, तापक्रम मापन गर्ने उपकरणलगायत सामग्रीको व्यवस्थापन गरिएको छ। स्वास्थ्यकर्मी इब्राना खातुनले रक्सौलबाट आउने प्रत्येक व्यक्तिको तापक्रम जाँच अनिवार्य गरिएको बताए। उनका अनुसार यहाँ सञ्चालित हेल्थ डेस्कमा सात जना स्वास्थ्यकर्मी खटिएका छन्।

  • वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत रु एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । 

    गत आवको सोही अवधिको तुलनामा चालु आवमा पाँचै थरिका पेट्रोलियम पदार्थको समग्र आयातमा रु एक अर्ब ३५ करोड रकम अर्थात ०.८६ प्रतिशतले गिरावट आएको हो।

    गत आवको १० महिनाको तुलनामा चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयातमा गिरावट आएपछि समग्र पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वमा भने उल्लेखनीय वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको परिमाणको आधारमा आयात घटेपनि राजस्व सङ्कलनमा वृद्धि भएको बताए। 

    चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ  आयातबाट कार्यालयले रु ६४ अर्ब ५० करोड रकम राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थ आयातबाट रु ५८ अर्ब ४८ करोड राजस्व सङ्कलन भएको थियो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थबाट सङ्कलन हुने राजस्व १०.३१ प्रतिशतले वृद्धि भएको हो ।
    वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु ७९ अर्ब ५२ करोड मूल्य पर्ने नौ लाख २९७ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा रु ८३ अर्ब ४७ करोड मूल्यपर्ने आठ लाख १३ हजार ८४६ किलोलिटर डिजेल आयात भएको छ । 

    कार्यालयका अनुसार चालु आवमा डिजेल आयात वापत कार्यालयले रु ३५ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा रु ३२ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको थियो ।

    चालु आवको १० महिनामा रु ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकी गत आवको १० महिनामा रु ३२ अर्ब ६० करोड मूल्य पर्ने तीन लाख २६ हजार ३८७ किलोलिटर पेट्रोलको आयात भएको थियो । 

    चालु आवको १० महिनामा पेट्रोल आयातबाट कार्यालयले २० अर्ब ७१ करोड राजस्व सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा रु १८ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको थियो । यो नाका हुँदै चालु आवको १० महिनामा रु ३० अर्ब २८ करोड मूल्य पर्ने रु २६ करोड ४१ लाख सात हजार ५४८ किलोग्राम एलपीजी ग्याँस आयात भएको छ ।

    जबकी गत आवको सोही अवधिमा रु २५ अर्ब १९ करोड मूल्य पर्ने २३ करोड ५५ लाख ४५ हजार ७४० किलोग्राम एलपीजी ग्याँस आयात भएको थियो । कार्यालयले चालु आवको १० महिनामा एलपी ग्याँस आयात वापत रु पाँच अर्ब ६७ करोड राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा एलपीजी ग्याँस आयातबाट रु चार अर्ब ७० करोड राजस्व सङ्कलन गरेको थियो ।

    वीरगञ्ज नाका हुँदै चालु आवको १० महिनामा रु १३ अर्ब ८८ करोड मूल्य पर्ने एक लाख ५३ हजार १९२ किलोलिटर एटिएफ आयात भएको छ । जबकी गत आवको १० सोही अवधिमा रु १५ अर्ब ४७ करोड मूल्य पर्ने एक लाख ४५ हजार ३३६ किलोलिटर एटिएफ आयात भएको थियो ।

    कार्यालयले चालु आवको १० महिनामा एटिएफ आयात वापत रु दुई अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा रु दुई अर्ब २२ करोड राजस्व सङ्कलन गरेको थियो । यो नाका हुँदै  चालु आवको १० महिनामा रु ५५ करोड मूल्य पर्ने छ हजार १३० किलोलिटर मट्टितेल आयात भएको छ । 

    जबकी गत आवको सोही अवधिमा ५६ करोड मूल्य पर्ने पाँच हजार ३६० किलोलिटर मट्टितेल आयात भएको थियो । कार्यालयले चालु आवको १० महिनामा मट्टितेल आयातबाट रु १५ करोड राजस्व सङ्कलन गर्‍यो भने गत आवको सोही अवधिमा पनि १५ करोड नै राजस्व सङ्कलन गरेको थियो ।

  • आगलागीमा परी चार वर्षीया बालिकाको मृत्यु

    आगलागीमा परी चार वर्षीया बालिकाको मृत्यु

    सर्लाही । सर्लाही जिल्लाको हरिपुर नगरपालिका-१ हजारबिघामा आगलागीमा परी चार वर्षीया बालिकाको ज्यान गएको छ।

    हरेराम महतोकी छोरी लक्ष्मीकुमारी महतोको आगोले जलेर उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

    जेठ १५ गते बिहान बालिका आफ्नै घरमा चुल्होमा कुँडो पकाइरहेको बेला खेल्ने क्रममा आगोमा परेकी थिइन्।

    परिवारले उनलाई तत्काल बरहथवास्थित नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पुर्‍याएका थिए। तर, उपचारकै क्रममा गएराति उनको ज्यान गएको हो।

  • प्रधानमन्त्री ओलीद्वारा एकैपटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास

    प्रधानमन्त्री ओलीद्वारा एकैपटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास

    जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन् ।

    प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार आज जनकपुरधाममा आयोजित विशेष समाहरोमा डिजिटल प्रविधिमार्फत एकैपटक ६४ आयोजनाको शिलान्यास गरेका हुन् ।

    यसरी ६४ वटा महत्वपूर्ण तथा ठूला सडक आयोजना विस्तार तथा स्तरोन्नतिका क्रममा शिलान्यास भएको क्षणलाई मधेस प्रदेश सरकारले ऐतिहासिक एवं गौरवका रुपमा स्मरण गर्दै प्रधानमन्त्री ओलीप्रति धन्यवाद व्यक्त गरेको छ ।

    भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ ।

    तीन वर्षभित्र सम्पन्न गर्ने कालोपत्रसहितको सो पक्की सडक निर्माणका लागि कूल रु १२ अर्ब ७० करोड खर्च हुने प्रदेश सरकारले जनाएको छ ।

    मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले भने, “स्रोत सुनिश्चित भई पूर्वाधार कार्यालयमार्फत ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ, आजको शिलान्यासपछि सडक निर्माणको कामले तीव्र गति लिन्छ ।”

    उनका अनुसार यसअघि पहिलो चरणमा अगाडि बढाइएका ३२० किलोमिटर सडक योजनामध्ये २०० किलोमिटरभन्दा बढी सडक निर्माण सम्पन्न भइसकेको छ, बाँकी भागको सडक निर्माण तीव्र रूपमा बढाइने छ । निर्माण हुने सडकको चौडाइ साढे पाँचदेखि सात मिटर हुनेछ ।

    सडकसँगै प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा एक/एक वटा पक्की पुल निर्माणका लागि प्रक्रिया सुरु भइसकेको मन्त्रालयले जनाएको छ । साथै, जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्दै पूर्वाधार निर्माणमा वातावरणमैत्री प्रविधि र उपायको प्रयोग गरिने भएको छ ।

    यो योजनाले मधेस प्रदेशमा सडक पहुँच अभावमा रहेका गाउँलाई यातायात सञ्जालमा जोड्ने, व्यापार–व्यवसाय प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई बजारसम्म लैजान सहयोग पुर्‍याउन मन्त्री यादवले बताए ।

  • चिकित्सकले ‘मोबाइलको लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए

    चिकित्सकले ‘मोबाइलको लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए

    पर्सा । अस्पतालको अति संवेदनशील स्थान ‘आइसीयू’ र ‘सिसीयू ’ कक्षमा आकस्मिक रुपमा विद्युत सेवा अवरुद्ध हुँदा के होला? बिरामीको ज्यान जान पनि सक्ला । तर नारायणी अस्पतालको आइसीयू र सिसीयू कक्षमा करिव दुई घण्टा ३० मिनेट विद्युत सेवा अवरुद्ध हुँदा कुनैपनि विरामीको अकालमा ज्यान गएन ।

    सो अस्पतालको सो कक्षमा शुक्रबार राति १०:३० देखि शनिबार बिहान १ बजेसम्म विद्युत् सेवा आपूर्ति विच्छेद भएको थियो । अस्पताल प्रशासन तथा व्यवस्थापनले समयमा ध्यान नदिँदा विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ ।

    सो समयमा अस्पतालको आइसीयू र सिसीयू श्ययमा १७ बिरामी उपचारत थिए । चिकित्सक र नर्सिङ स्टाफले आवश्यक समन्वय र सावधानी अपनाउँदा ती बिरामी जोगिएका थिए । विद्युत् अवरुद्ध भएपछि हुँदा चिकित्सक र नर्सले मोबाइलबाट ‘लाइट’ बालेर उपचार गरेका थिए ।

    यसैबीच जिल्ला प्रशासन कार्यालयले नारायणी अस्पतालको आइसीयू० र सिसीयू जस्तो संवेदनशील कक्षमा शुक्रबार राति विद्युत् आपूर्ति विच्छेद भएको घटनालाई गम्भीरतापूर्वक चासो लिएको छ । प्रशासनले विद्युत् आपूर्तिमा हेलचेक्याइँ गर्ने सम्बन्धित कर्मचारीलाई आन्तरिक छानबिन गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएको छ ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी प्रमुख गौतम मिश्रले शनिबार नारायणी अस्पताल विकास समितिका अध्यक्ष, निमित्त मेडिकल सुपरिटेन्डडेन्ट, प्रशासन प्रमुख, अस्पतालका विभिन्न विभाग तथा कक्षमा कार्यरत चिकित्सक, नर्सिङ विभागमा कार्यरत नर्सिङ स्टाफ, इलेक्टिसियनलगायत अस्पतालसँग जोडिएका सबै निकायका पदाधिकारी तथा कर्मचारीसँग शनिबार संयुक्त बैठक राखेर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा गम्भीर हुनका लागि कडा निर्देशन दिएका छन् ।

    “अस्पतालको आइसीयू र सिसीयूजस्तो संवेदनशील ठाउँमा साढे दुई घण्टा विद्युत् अवरुद्ध हुनु निकै गम्भीर विषय हो”, प्रजिअ अर्यालले भने, “तपाईँहरूका कारणले कुनै बिरामीको ज्यान जोखिममा परेको भए जिम्मेवारी लिने कसले हो । हिजोको विषम घटनाबाट पाठ सिक्दै आगामी दिनमा यस्ता खालका कुनै पनि गल्ती र कमजोरी नदोहोर्याउनका लागि निर्देश गर्दछु, । जनताको स्वास्थ्यजस्तो कुरामा कसैले पनि खेलवाड गर्न पाइँदैन ।” प्रहरी प्रमुख मिश्रले अस्पताल प्रशासनले इलेक्टिसियनलगायतका कर्मचारीलाई २४सैँ घण्टा ड्युटीमा खटाउनका लागि पनि अनुरोध गरे ।

    नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले शुक्रबार राति भएको घटना गम्भीर प्रकृतिको भएकाले आगामी दिनमा त्यस्ता खालका घटना दोहोर्याउन नदिने प्रतिबद्धता व्यक्त गरे । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट चित्ररञ्जन साहले आइसीयू र सिसीयू कक्षमा कमजोर प्रकृतिको वायरिङको कारणले सो घटना भएको दाबी गरे ।