वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः नेता खनाल



मोरङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण परिवर्तन नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै खनालले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महशुस भएर नै नयाँ समीकरण बनेको भन्दै यो परिवर्तन नहुने स्पष्ट पारे ।


उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य भन्दै भएको छलफलकै आधारमा सत्ता गठबन्धनमा कुनै समस्या नपर्ने बताए ।

उनले भने, “वामपन्थीहरुको एकताबाट मुलुकमा समृद्धिका लागि कम्युनिष्टबीच एकता जरुरी छ । यो आजको आवश्यक्ता पनि हो । यसमा कुनै दुईमत छैन ।” उनले कोशी प्रदेशलगायत अन्य प्रदेशमा नयाँ सरकार निर्माण सुरु भइसकेको समेत बताए ।

खनालले पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्री पदको माग नगरेको उल्लेख गरे  ।  कोशी प्रदेश सरकारमा अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिनु केही राजनीतिक र संवैधानिक समस्या भएको बताए । उनले यो सङ्क्रमणको समय भएकाले छिट्टै समाधान हुनेमा विश्वास व्यक्त गरे । उनले निर्वाचन प्रणालीमा परिमार्जन गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here