सुडानमा ५० लाख मानिस भोकमरीको जोखिममा



संयुक्त राष्ट्रसङ्घले सुडानको द्वन्द्वरत समूहलाई ‘विनाशकारी’ भोकमरीबाट बचाउन मानवीय राहत वितरण गर्न अनुमति दिन शुक्रबार आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको दस्तावेजअनुसार सुडानका प्रतिद्वन्द्वी जनरलबीचको करिब एक वर्ष लामो युद्धले देशलाई टुक्रयाउने क्रम जारी रहँदा आगामी महिनाहरूमा करिब ५० लाख सुडानीले खाद्य असुरक्षाको सामना गर्नुपर्ने हुनसक्छ ।


सेना प्रमुख अब्देल फताह अल बुरहान र उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोबीच गत वर्षको अप्रिलदेखि जारी युद्धले दशौँ हजारको ज्यान लिइसकेको छ भने पूर्वाधार ध्वस्त पारेको छ । युद्धका कारण यहाँको अर्थतन्त्र धराशायी बनेको छ ।

यसले गम्भीर मानवीय सङ्कट र तीव्र खाद्यान्न अभाव पनि निम्त्याएको छ र देश अनिकालको सङ्घारमा पुगेको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले सुरक्षा परिषद्लाई लेखेको पत्रमा करिब एक करोड ८० लाख सुडानीले खाद्य असुरक्षाको सामना गरिरहेको उल्लेख गर्दै आगामी महिनामा देशका केही भागमा करिब ५० लाख मानिस विनाशकारी खाद्य असुरक्षामा फस्न सक्ने चेतावनी दिएका छन् ।

डार्फरका दुई लाख ४० हजारभन्दा बढीसहित करिब सात लाख ३० हजार सुडानी बालबालिका ‘गम्भीर’ कुपोषणबाट पीडित रहेको उनले बताए ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भने, “सहायता सङ्गठनहरूलाई सुडानभित्रको द्वन्द्वग्रस्त क्षेत्रमा समेत सुरक्षित, छिटो, दिगो र निर्बाध पहुँचको खाँचो छ । अन्तर्राष्ट्रिय समुदायबाट स्रोतसाधनको व्यापक परिचालन पनि महत्वपूर्ण छ ।”

संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमले युद्धले ‘विश्वको सबैभन्दा ठूलो भोकमरीको सङ्कट निम्त्याउने’ चेतावनी दिएको छ । पोर्ट सुडानमा पर्याप्त मात्रामा सहायता मौज्दात रहेको तर समस्या भनेको त्यहाँबाट आवश्यक परेका मानिसहरूलाई सहयोग पठाउनु रहेको संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय युनिसेफका सुडानका लागि आपतकालीन प्रमुख जिल ललरले बताए ।

ललरले ११ महिना पहिले युद्ध सुरु भएयता खार्तुममा पुग्ने संयुक्त राष्ट्रसङ्घको पहिलो मिसनको नेतृत्व आफूले गत साता गरेको बताएका थिए ।