व्यक्ति केन्द्रित समिति गठन हुँदैन: एमाले उपाध्यक्ष पोखरेल



मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, “समस्यालाई केन्द्र्रित गरेर समिति गठन गर्नुपर्छ, व्यक्ति केन्द्रित होइन।” गृहमन्त्रीको नामै तोकेर समिति गठन गर्नुपर्ने प्रतिपक्षीको माग उचित नभएको उनले प्रस्ट पारे।


उनले वर्तमान नयाँ सत्ताको राजनीतिक समीकरणले मुलुकको सङ्घीयतालाई बलियो बनाउने बताए। विगतको गठबन्धन नीतिहीन, अस्वाभाविक रहेकाले तोड्नुपर्छ भनेर एमालेले नयाँ गठबन्धन बनाएको र यसले जनताका समस्या सम्बोधन गर्ने धारणा राखे।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व दिन गठबन्धन सकारात्मक रुपमा अगाडि बढिरहेको जानकारी दिए। उनले एमाले मिसन २०८४ को लक्ष्य लिई अगाडि बढिरहेको बताए।