वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा



काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका खगेन्द्र रोका मगर छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा आज सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा पुरुष ६३.५ केजीको भिडन्तमा साग स्वर्णधारी भूपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द, निश्चलले एपीएफका सोनाम सार्की र खगेन्द्र रोका मगरले मधेस प्रदेशका मुनाल जोशीलाई पराजित गरे ।


त्यस्तै प्रतियोगिताको पुरुष ५१ केजीमा भूपेन्द्रका सहोदर भाइ चन्द्रबहादुर थापाले कोशी प्रदेशका फुङलाङ काम्बाङ, बागमती प्रदेशका लालप्रसाद उप्रेतीले लुम्बिनीका भरत पुन, आर्मीका विमल घर्ती मगरले कर्णाली प्रदेशका लक्ष्मण राई र मधेस प्रदेशका रविन थापाले एपीएफका प्रदीप महर्जनलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

पुरुष ५७ केजीमा प्रहरीका निकेश देशारले एपीएफका पुरन राईबाट वाकओभर पाउँदै सेमिफाइनल यात्रा तय गरे । सोही स्पर्धामा कर्णाली प्रदेशका सुलभ मालीले कोशीका डम्बरबहादुर श्रेष्ठ, सुदूरपश्चिमका विशाल जाग्रीले बागमतीका निराजन मोक्तान र आर्मीका प्रेम चौधरीले लुम्बिनी प्रदेशका मन्सुब बस्नेतलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।

पुरुष ७१ केजीमा एपीएफका विक्रम चौधरीले मधेसका सुजित पराजुली तथा बागमतीका अश्विन धीरन श्रेष्ठले लुम्बिनीका मनोज श्रेष्ठलाई पन्छ्याउँदै सेमिफाइनलमा पुगे । पुरुष ८० केजीमा सुदूरपश्चिमका बालाजी रावलले प्रहरीका प्रदीप पार्की तथा आर्मीका दिपेश लामाले एपीएफका सुमन कार्कीको चुनौती समाप्त पार्दै सेमिफाइनलमा प्रवेश गरे ।

गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासङ्घद्वारा संयुक्त आयोजित उक्त प्रतियोगिताको महिला ५० केजीमा बागमतीकी रमिशा श्रेष्ठले सुदूरपश्चिमकी सोनिया सेठ्ठी तथा आर्मीकी आरती ब्लोनले कोशीकी शिला राईलाई निराश पार्दै सेमिफाइनलमा पुगे ।

महिला ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले एपीएफकी शर्मिला तामाङ तथा प्रहरीकी निशा तामाङले मधेसकी अंशु केसीलाई पन्छ्याउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला ६० केजीमा आर्मीकी ललिता महर्जनले मधेसकी निश्मा गुरुङ तथा कोशीकी जोनु लिम्बूले सुदूरपश्चिमकी कविता सिंहलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल रहे ।