प्रचण्ड-ओली भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली प्रचण्डलाई भेट्न शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा पुगेका थिए । भेटवार्तामा सरकारको कामकारबाही, नीति तथा कार्यक्रमबारे कुराकाकी भएको जनाइएको छ ।


सत्तारुढ ५ दलले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पको प्रभावकारी कार्यान्वयनका बारेमा समेत दुई नेताबीच छलफल भएको छ ।

सत्ता समीकरण फेरिएपछि प्रदेश सरकार परिवर्तन हुनेक्रममा छन् । सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच प्रदेश सरकारको विषयमा सहमति भएको छैन् । आजको भेटमा सो विषयमा पनि छलफल भएको बताईएको छ । त्यस्तै संक्रमणकालिन न्यायसँग सम्बन्धित (टीआरसी) विधेयकलाई टुंगोमा पुर्याउनेबारे पनि छलफल भएको छ ।

ओली प्रचण्डबीचको भेटवार्ता अघि ४ वटा कम्युनिष्ट घटक मिलेर बनेको समाजवादी मोर्चाको बैठक बसेको थियो । सो बैठकले मोर्चामा नेकपा एमालेलाई पनि समेट्नेबारे छलफल भएको थियो । मोर्चाको बैठकलगत्तै प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका हुन् । यसअघि मोर्चाका संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले बिहीबार ओली निवास बालकोटमै पुगेर छलफल गरेका थिए ।