गुल्मीमा शुक्रबारदेखि खुला ब्याडमिन्टन प्रतियोगिता



रेसुङ्गा (गुल्मी) । गुल्मीमा शुक्रबारदेखि खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा यही चैत ९ देखि ११ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो ।

जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष नवराज श्रेष्ठका अनुसार उक्त प्रतियोगिताअन्तर्गत खुल्ला पुरुष डबल, भेट्रान्स, खुला पुरुष एकल, खुला महिला डबल्सलगायत सात विधाका खेल हुने छन् । खुला पुरुष डबल्सतर्फ पहिलो हुनेले रु ६० हजार, दास्रो हुनेले रु ४० हजार र तेस्रो हुनेले रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।


यस्तै भेट्रान्सतर्फ पहिलो हुनेलाई रु ४० हजार, दोस्रो हुनेलाई रु २५ हजार र तेस्रो हुनेलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ । खुला पुरुष एकलतर्फको पहिलो हुने खेलाडीलाई रु ३५ हजार, दोस्रो हुनेलाई रु २५ हजार तथा तेस्रो हुनेलाई रु १५ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसैगरी खुला महिला डबल्सतर्फको विजेताले रु ३५ हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुनेले रु १५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा खुला पुरुष डबल्स र खुला पुरुष एकलतर्फ राष्ट्रिय बरियताका २० भन्दा तलका खेलाडी मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ ।